×

वीरगञ्ज, २० मंसिर ।  चालु आर्थिक वर्षको ५ महिनाको अवधिसम्म सशस्त्र प्रहरीले २२ करोड ६ लाख ८ हजार २ सय ८४ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री बरामद गरिएको हो । 

चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्मको अवधिमा उक्त मूल्य बराबरको अबैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए । उनका अनुसार यसअघि आ.व. २०७८/७९ मा ६३ करोड ६५ लाख ५९ हजार ६ सय २९ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरिएको थियो । 

चालु आर्थिक वर्षको हालसम्म ३६ लाख ५३ हजार ४ सय रुपैयाँ बराबरको चौपाया बरामद गरिएको छ । बितेको आर्थिक वर्षमा १ करोड २६ लाख ५२ हजार ८ सय २० रुपैयाँ बराबरको चौपाया बरामद गरिएको थियो । 

मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट चौपाया बरामद गरिएको डिआईजी ठाडामगरले बताए । उनले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्मको अवधिमा ४० लाख १५ हजार १ सय ७५ रुपैयाँ बराबरको १ हजार ७ सय ३९.४ क्युबिक फिट अवैध काठ बरामद गरिएको छ । 

आ.व. २०७८/७९ मा १ करोड ४३ लाख ५५ हजार ४७ रुपैयाँ बराबरको ४ हजार ५ सय ५१.५९ क्युबिक फिट अवैध काठ बरामद गरिएको थियो । 

छिन्नमस्ता बाहिनी मातहतका विभिन्न स्थानका सशस्त्र प्रहरीका युनिटहरुबाट खटिएको टोलीले गत आ.व. मा ३१ लख ६२ हजार ९ सय ५९ रुपैयाँ बराबरको सुनचाँदी बरामद गरिएको थियो । जसमध्ये १ सय ९५.८९ ग्राम सुन थियो भने १९.२१८ किलोग्राम चाँदी रहेको थियो । चालु आर्थिक वर्षको मंसिरसम्ममा २० लाख ७२ हजार ७ सय ८८ रुपैयाँ बराबरको २०.५२२ किलोग्राम चाँदी बरामद गरिएको डिआईजी ठाडामगरले जानकारी दिए । 

गत आर्थिक वर्षमा स्रोत नखुलेको ३ करोड २० लाख ३६ हजार ७ सय २० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्ममा ५१ लाख ८५ हजार ३ सय रुपैयाँ बरामद गरेको छ । 
१७ लाख ६१ हजार ९ सय १ भारतीय मुद्रा बरामद गरेको सशस्त्र प्रहरीले यस अवधिमा ९ लाख ५० हजार अवैध भारतीय रुपैयाँ बरामद गरेको छ । 

वितेको आर्थिक वर्षमा ७ लाख ६४ हजार ५ सय रुपैयाँ नक्कली नेपाली रुपैयाँ बरामद गरिएको थियो भने चालु आर्थिक वर्षको हालसम्म ३ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । 
मधेश प्रदेशबाट गत वर्ष ५१ हजार नक्कली भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको थियो । ५१ हजार पिस नेपाली नक्कली नोटको कागजसमेत बरामद गरेको सशस्त्र प्रहरीले हालसम्म ६ हजार ९ सय पिस नक्कली नेपाली नोटको कागज बरामद गरेको छ । 

Back to top