×

वीरगञ्ज, १० मंसिर । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री रामसहाय प्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका यादव आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ सय ५४ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि यादव तत्कालिन सङ्घीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्ववन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउँदै जित हात पारेका हुन् ।

यादवले जितेसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी बिजयी भएको छ ।

यसैगरी आठ प्रदेशसभामध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ बारा क्षेत्र नम्बर १ र ३ मा एमाले, क्षेत्र नम्बर २ मा जसपा र क्षेत्र नम्बर ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(क), ३(क), ३(ख) र ४(ख) मा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

एमालेसँग चुनावी तालमेल गरेको जसपाले १(ख) र २(ख) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नम्बर ४(ख) मा जित हात पारेको छ भने क्षेत्र नम्बर २(क) मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठूलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक/एक सिट जितेका छन् ।

बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सून्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(ख) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन् पुगेका छन् ।

Back to top