×

वीरगञ्ज, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले निर्वाचित भएका प्रदीप यादवलाई बधाई दिएका छन् । 

मतपरिणाम सार्वजनिक भएपछि लगभग १६ सय मतको अन्तरले पराजित भएका द्विवेदीले सामाजिक सञ्जाल मार्फत निर्वाचित प्रदीप यादवलाई बधाई दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा द्विवेदीले लेखेका छन्, “मतादेशलाई सादर स्वीकार गर्दै विजयी उम्मेदवार श्री प्रदीप यादव जीलाई हार्दिक बधाई ।”

द्विवेदीले दलिय राजनीतिमा स्वतन्त्र उमेदवार बनेर मतदाताको विचमा जाँदा जनताबाट प्राप्त उत्साह, स्नेह र प्रेम प्रति आफू नतमस्तक बनेको बताउँदै मतदाता प्रति पनि आभार प्रकट गरेका छन् । त्यसकासाथै उनले जोखिम मोलेर आफूलाई सहयोग गर्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, फरक फरक विचार पेशा, व्यवसाय र उमेर समूहका आमजनताले दिएको समर्थन र सहयोग प्रति आफू सदैव आभारी रहने बताएका छन् ।

द्विवेदीले सोही पोस्ट मार्फत अबको राजनीति मुद्दामा हुने की मुद्रामा हुने भन्ने प्रश्न गरेका छन् । “राजनीति मुद्दामा हुने की मुद्रामा हुने यो प्रश्न उठेको छ? हाम्रो निर्वाचन प्रणालीमा नै सुधार गर्ने की? वहस सुरु गरौँ,” द्विवेदीले लेखेका छन् । पछिल्लो समय निर्वाचनको समयमा बढ्दै गएको पैसाको चलखेल र अनावश्यक खर्च तर्फ इंकित गर्दै द्विवेदीले यस्तो लेखेका छन् । 

नेपाली कांग्रेसका संस्थापक स्वर्गीय विपि कोइरालाले राजनीतिमा गलत प्रवृति हावी हुँदा विद्रोह गर्नु, असल मान्छे बन्नु भन्ने सिकाएको विचारलाई स्मरण गर्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ । 

तिन पटक नेपाली कांग्रेस पर्साको जिल्ला सभापति रहेका द्विवेदीको टिकट गठबन्धनका कारण खोसीएपछि उनले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका थिए । बुधबार सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार द्विवेदी जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवसँग १ हजार ६२० मतको अन्तरले पराजित भएका थिए । जसपाका उमेदवार यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनले २० हजार ९१७ मत पाएका थिए ।

द्विवेदी यसअघि पनि दुई निर्वाचनमा हार व्यहोरी सकेका छन् । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा उनि वीरगञ्ज महानगरपालिकाको मेयरमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगीसँग पराजित भएका थिए भने २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका विचारी यादवसँग पराजित भएका थिए ।

 

Back to top