×

वीरगञ्ज, ७ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत १८ हजार भन्दा बढीको मतान्तरले विजयी भएका छन् ।

दुई पार्टी अध्यक्षबीचको प्रतिस्पर्धालाई निकै रोचकताकासाथ हेरिएकोमा जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर जित हासिल गरेका हुन् ।

मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा निकट्तम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुर ७ हजार ३४७ मतमा खुम्चिएका छन् । सप्तरी-२ मा ६७.९७ प्रतिशत अर्थात ६४ हजार ५६० मतदान भएको थियो । जसमा ६० हजार ९२१ मत सदर भएको छ भने ३ हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार ७२० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनका निकट्तम प्रतिद्वन्द्वी बामगठबन्धनका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए ।

त्यस्तै लोसपाबाट विद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले २०७४ को निर्वाचनमा ९ हजार ४५९ मत ल्याएका थिए । सत्ता गठबन्धनको समर्थनमा उठेका ठाकुरले यसपटक भने ७ हजार ३४७ मत मात्र ल्याएका छन् ।

Back to top