×

वीरगञ्ज, ७ मंसिर । प्रतिनिधि र प्रदेशसभाको मतगणना जारी रहेको बेला मधेशबाट नेतृत्व हुने जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले ‘थ्रेस होल्ड’ कटाउन नसक्ने संकेत देखिएको छ ।

राष्ट्रिय पार्टीको हैसियतमा रहेका जसपा र लोसपाले ‘थ्रेस होल्ड’ कटाउन सक्ने संभावना कमजोर देखिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुबै दलको मत अत्यन्त कम आएको देखिएको छ । जनमत पार्टीको अवस्था पनि उस्तै रहेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ खसेको सदरमतको ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्र ‘थ्रेस होल्ड’ पूरा गर्ने छन् ।

कुल १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो । ‘थ्रेस होल्ड’ पूरा नगर्ने दलको राष्ट्रिय मान्यता नहुने कानूनी प्रावधान छ । राष्ट्रिय दलको हैसियत प्राप्त गर्न नसक्ने दलबाट निर्वाचित जनप्रतिनिधिहरुको स्वतन्त्र अस्तित्व हुनेछ । दलबाट निर्वाचित भए पनि उनीहरुमाथि ह्वीप लाग्ने छैन् । प्रत्यक्षतर्फ प्रतिनिधि सभाको मतगणनाको परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले पराजित गर्ने पक्का छ ।

मतगणना जारी रहे पनि जितको अन्तर घोषणाको औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको छ । त्यसैगरी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामअधार कापरले पछाडि पारेका छन् । अबेर राति सम्मको गणनामा ठाकुर पछाडि नै रहेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनमत पार्टीका अध्यक्ष राउत जितको औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको छ ।

उनीहरु निकटतम् प्रतिद्वन्दीभन्दा निकै फराकिलो अन्तरले अग्रता लिएका छन् । मतगणनाको मध्यरातिको विवरण अनुसार मधेश प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ९ स्थान, एमालेका ५, नेकपा एसका ३, माओवादी केन्द्रका २, जसपाका ४, लोसपाका २, जनमत २ र स्वतन्त्र ५ स्थानमा अगाडि रहेका छन् । प्रदेशमा २ स्थान जनमत र २ स्थानमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Back to top