×

वीरगञ्ज ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन देशभर एकसाथ शुरू भएकाे छ । संविधान जारी भएपछि दुवै सभाका लागि शुरू भएकाे यो पहिलो आवधिक निर्वाचन हो । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो ।

मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन शुरू भएकाे  हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । तर प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मध्यावधि निर्वाचनको प्रयास असफल भएको थियो ।

पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा २०७८ साल वैशाख १७ र २७ गते गरी दुई चरणमा चुनाव हुने घोषणा गरिएको थियो । दोस्रो पटक विघटन हुँदा २०७८ कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन हुने घोषणा गरिएको थियो ।  निर्वाचन आयोगले आइतबार हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

बिहान ७ देखि शुरू भएकाे मतदान बेलुकी ५ बजेसम्म हुने छ । मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन् । जसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार दुई सय छ । प्रदेश सभाअन्तर्गत सातवटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन् । यसरी देशैभरि प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी स्पर्धामा छन् ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । ८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन् । आयोगका अनुसार मतदानका लागि दस हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले दिएकाे जानकारी अनुसार मतदान सम्पन्न भएसँगै आजै रातिदेखि मतगणना शुरू हुनेछ ।

Back to top