×

वीरगञ्ज, २ मंसिर । प्रदेश र प्रतिनिधि सभा सभाको निर्वाचनका लागि स्थिर समय शुरु भएसँगै पर्सा जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । उनका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरीसहित पर्सा जिल्लामा लगभग ३ हजार ३ सय जना सुरक्षा कर्मी परिचालित छन् ।

छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको वीरगञ्जसहित पर्सा जिल्ला सुरक्षाका दृष्टिकोणले चुनौतीपुर्ण भएपनि कडा सुरक्षा व्यवस्थाका कारण शान्तिपुर्ण ढंगले निर्वाचन हुने प्रहरी उपरीक्षक बस्नेतेको विश्वास छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै यहाँको सुरक्षा सतर्कता बढाइएको हो । मुख्य गरी वीरगञ्ज बजार क्षेत्रमा गस्ती बढाइएको छ भने विभिन्न समयमा सुरक्षाकर्मीहरुले यहाँका टोलहरुमा गस्ती गरीरहेका छन् । 

छिमेकी राष्ट्र भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको छ । विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले बताए ।

बिष्फोटक पदार्थ तथा साना हातहतियारको प्रवेश रोक्नका लागि निर्वाचनका अवसरमा सिमानाकामा सुरक्षा सर्तकता बढाइएको मल्लको भनाई छ । वीरगञ्व रक्सौल नाकास्थित मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया सिर्सिया छोटी भन्सार नाकामा तालिमप्राप्त कुकुर सहितको टोलिले चेकजाँच कार्य गरिरहेको छ ।

पर्सा जिल्लामा नेपाल प्रहरी र म्यादी प्रहरीसहित ८ सय जना सशस्त्र प्रहरी परिचालित छन् । मधेश प्रदेशका ८ जिल्लामा ८ सयका दरले ६ हजार ४ सय जना सशस्त्र प्रहरीलाई परिचालन गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) गणेश ठाडा मगरले जानकारी दिए । डिआईजी मगरका अनुसार सबैभन्दा पहिला बरिष्ठ हवल्दारको नेतृत्वमा १० जनाको टोलीलाई निर्वाचन कार्यालय सुरक्षा डिउटीका लागि खटाइएको छ । 

त्यस्तै प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा पनि सुरक्षाकर्मी परिचालित छन् । एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा (सशस्त्र प्रहरी नायब उपरीक्षक) डिएसपीको नेतृत्वमा सुरक्षा बेस बनाइएको छ भने प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा स्ट्राइकिङ् बेसलाई परिचालन गरिएको छ । डिआईजी मगरका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सई र असईको नेतृत्वमा ६वटा मोवाइल टोली र मोवाइल टोलीको सहयोगका लागि ५ वटा क्वीक रियाक्सन टोली (क्युआरटी) परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सिराहा र सप्तरीका लागि १ वटा, धनुषा र महोत्तरीका लागि १ वटा, सर्लाहीका लागि १ वटा रौतहटको लागि १ वटा र बारा र पर्साका लागि १ वटा गरेर ५ वटा क्युआर टिम परिचालन गरिएको छ । 

आपतकालिन अवस्थाका लागि बाहिनीमा १ वटा टिमलाई स्ट्यान्ड बाई राखिएको डिआईजी मगरले बताए । सूचना संकलन, साना हतियार लगायत, अपराध नियन्त्रणका लागि स्पेशल स्मार्ट टिम पनि विभिन्न स्थानमा खटिएको ठाडा मगरले बताए । 

निर्वाचनलाई भयरहित एवम् शान्त वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको जिकिर छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न उनले निर्देशनसमेत दिएका छन् । 

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आईजीपी सिंह विश्वस्त छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी ४ वटै सुरक्षा निकायबाट सुरक्षा भइरहेको हुँदा अराजक गतिविधि गर्छु भन्ने कुरा नसोचे पनि हुने उनको भनाई छ । 

उनले भने, ‘यदि कसैले बुथ कब्जा गर्ने सोच बनाएको छ भने नसोचे पनि हुन्छ । बलपूर्वक मत पत्र च्यात्ने, कोही उम्मेदवारलाई आक्रमण गर्नेदेखि मतदातालाई धाक धम्की दिने जस्ता गतिविधि हुन दिने छैनौ ।’ मतदान केन्द्रको सुरक्षा, मतदाताको सुरक्षा, मत पेटीकाको सुरक्षा एवम् उम्मेदवारहरुको सुरक्षाका लागि सबै व्यवस्था मिलाइएको सिंहले बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकोले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । 

स्थिर समयमा निर्वाचन विथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने भएको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुन उनले आग्रह गरेका छन् । 
 

Back to top