×

वीरगञ्ज, १ मंसिर ।  ४ वटा संसदीय क्षेत्र रहेको पर्सा जिल्लामा ३ वटा कांग्रेस र १ वटा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भागमा परेको छ ।

केन्द्रीय राजनीतिले पनि प्रमुख प्राथमिकताका साथ हेरिएको पर्सा क्षेत्र नम्बर १ लोसपाको भागमा पर्दा बाँकी ३ वटा क्षेत्र कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर १ बाट क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण उम्मेदवार छन् भने क्षेत्र नम्बर २, ३ र ४ मा क्रमश नेपाली कांग्रेसका अजय चौरसिया, सुरेन्द्र प्रसाद चौधरी र रमेश रिजाल छन् ।

क्षेत्र नम्बर २ र ४ मा सत्ता गठबन्धनका अजय चौरसिया र रमेश रिजालको जित लगभग सुनिश्चित देखिएपनि क्षेत्र नम्बर १ र ३ मा भने कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रदीपलाई हराउने दाउमा द्विवेदी

पर्साको क्षेत्र नम्बर १ को चुनावी नतिजा के होला भन्ने प्रतिक्षामा सिंगो पर्साबासी छन् । पाँच दलीय गठबन्धनबाट लक्ष्मणलाल कर्ण, नेकपा एमाले र जसपाको गठबन्धनबाट प्रदीप यादवसँगै नेपाली कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका अजय कुमार द्विवेदी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ हेरिनुका कारण हुन् अजय । उनी ४ दशकसम्मको नेपाली कांग्रेसको राजनीति त्यागेर स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका तत्कालिन संघिय समाजवादी फोरम (हाल जसपा) का प्रदीप यादवलाई हराउने दाउमा अजय देखिन्छन् । विभेदका विरुद्ध विद्रोह र अन्यायको विरुद्ध प्रतिकारको नाराका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।

दोहोरिएर इतिहास रच्ने यादवको जिकिर

पर्साको क्षेत्र नम्बर १ बाट अहिलेसम्म कोही पनि उम्मेदवारले दोहोरिएर जितेको छैन । तर यसपटक यस क्षेत्रका जनताले आफुलाई दोहोर्याउने र इतिहास रच्ने जसपा एमालेका उम्मेदवार प्रदीप यादवको जिकिर छ । अन्तिम समयमा छोटो अवधिका लागि भएपनि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आफुले गरेका काम नै आफुले जित्ने आधार भएको बताए ।

आफ्नो जित सुनिश्चित भएको बताउँदै यादवले आफुसँग कसैको प्रतिस्पर्धा नै नरहेको दावी गरे । जसपा र एमालेको गठबन्धनले जित्ने यादव बताउँछन् । ५ वर्ष अघिको पर्सा जिल्ला र अहिलेको पर्सा जिल्लालाई हेरेर तुलना गर्न आग्रह गर्दै उनले आफ्नो कार्यकालमा पर्सा जिल्लाको क्षेत्र नम्बर १ मात्रै नभएर सिंगो पर्सा जिल्लाले विकासको यात्रा आरम्भ गरेको बताए ।

गठबन्धनले साथ दिनेमा कर्ण विश्वस्त

२०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट पर्साको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका लक्ष्मणलाल कर्णलाई पाँच दलीय गठबन्धनले क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत रहेका कर्ण क्षेत्र नम्बर १ मा आएसँगै उनको अवस्था कमजोर देखिएपनि कर्णले भने आफुलाई जनताले निर्वाचित गराउने दावी गर्छन् । आफुले क्षेत्र नम्बर ४ मा मात्रै काम नगरेर क्षेत्र नम्बर १ मा पनि काम गरेको कर्णको भनाई छ । जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा स्थापना गर्न आफुले नै पहल गरेको बताउँदै उनले क्षेत्र नम्बर १ मा पनि आफ्नो घर भएको हुँदा यहाँका जनतासँग पनि नजिकको सम्बन्ध रहेको बताए । बरिष्ठ अधिवक्तासमेत रहेका कर्णले अहिले पनि आफु नेताभन्दा पनि वकिलको रुपमा बढी परिचित भएको बताउँदै भने, ‘मलाई अहिले पनि नेता भन्दा पनि वकिल ज्यु भनेर जनताले सम्बोधन गर्नुहुन्छ । म मेरो पेशाका कारण बढी परिचित छु । मेरो कामसँगै मेरो क्षमता र ईमान्दारीताको मूल्यांकन गरेर नै गठबन्धनले मलाई उम्मेदवार बनाएको छ । अब क्षेत्र नम्बर १ का जनताले जिताएर पनि पठाउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’

पाँच दलीय गठबन्धनले जित्ने र फेरी पनि गठबन्धनकै सरकार बन्ने कर्णको दावी छ । कर्णको यो चौथो चुनाव हो । ३ पटक संसदीय चुनाव जितेका कर्णलाई यसपटक चौथो पटक जित निकाल्न भने त्यति सहज छैन ।

चौरसियाको चौतर्फी चर्चा

पर्साको क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाको चौतर्फी चर्चा चुलिएको छ । कमजोर प्रतिस्पर्धीका कारण आफ्नो जित सुनिश्चित भएको चौरसिया बताउँछन् । उनको प्रतिस्पर्धा जसपा एमाले गठबन्धनका सुरेन्द्र कुर्मीसँग भएपनि कुर्मी नयाँ उम्मेदवार हुन् । चौरसिया राजनीतिका पूराना खेलाडी हुन् । अहिलेसम्मको अवस्थाअनुसार पूराना खेलाडी चौरसिया अगाडी देखिएपनि नयाँ उम्मेदवार कुर्मीले पछ्याइरहेका छन् ।

चौधरी र गुप्ताको प्रतिस्पर्धा

पर्साको क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । जसपा एमालेको गठबन्धनबाट राजकुमार गुप्ता र पाँच दलीय गठबन्धनका सुरेन्द्र चौधरीबिचको लडाई हेर्न लायक हुनेछ । यि दुवै पूराना राजनीतिज्ञ हुन् । चौधरी सातौ पटक चुनाव लडीरहेका छन् भने गुप्ता चोथो पटक चुनाव लडीरहेका छन् । उनी संविधान सभा सदस्यसमेत हुन् भने चौधरी पूर्व मन्त्री हुन् । उनीहरु दुवै उम्मेदवारलाई पछ्याउँदै नेपाल सुशासन पार्टीका राजकुमार यादव पनि प्रतिस्पर्धामा छन् ।

कांग्रेस र एमालेको कडा टक्कर

पर्साको क्षेत्र नम्बर ४ नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रमेश रिजाल र जसपा एमाले गठबन्धनबाट एमालेका जालिम मियाँ मन्सुरीको प्रतिस्पर्धा रोचक हुने भएको हो । यि दुवै पूराना राजनीतिज्ञ हुन् । रमेश केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् भने जालिम पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रीत राजनीतिमा सक्रिय छन् ।

Back to top