×

वीरगञ्ज, ३० कार्तिक । पर्साको क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अजय चौरसिया भारी देखिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाको पकड क्षेत्र मानिने क्षेत्र नम्बर २ मा उनीसँग प्रतिस्पर्धामा कोही देखिदैनन् । 

दलका ८ जना र स्वतन्त्र ३ गरी ११ जना उम्मेदवार रहेको यस क्षेत्रमा चौरसिया नै अहिलेसम्मका अब्बल उम्मेदवार देखिन्छन् । 

५७ वर्षीय चौरसिया विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न छन् । २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय भएका उनी २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा चुनाव लडेका थिए ।

निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्किएका चौरसियालाई २०५६ सालको आम चुनावमा पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसबाट उम्मेदवार भएर निर्वाचित भएका थिए । सोही अवधिमा उनी २०५८ सालमा स्थानीय विकास मन्त्रालयको सहायक मन्त्रीसमेत बनेका थिए । 

राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवनसमेत बिताएका चौरसिया २०६४ सालमा भएको पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । 

२०७० सालको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा पराजित भएका चौरसिया २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि तत्कालिन संघिय समाजवादी फोरमका बिमल प्रसाद श्रीवास्तवसँग पराजित भए । २१ हजार १ सय ६९ मतका साथ बिमल बिजयी हुँदा १९ हजार ७ सय ४ मतका साथ अजय दोस्रो स्थानमा रहेका थिए । चौरसिया यसपाली छैठौँ पटक चुनावी मैदानमा होमिएका छन् । २ पटक जित र ४ पटक हार बेहोरेका चौरसियाले यसपाली फेरी जित आफ्नो पक्षमा पार्ने देखिन्छ ।

हालसम्मको चुनावी माहोलअनुरुप चौरसिया अगाडी भारी देखिएपनि उनलाई जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले पछ्याइरहेका छन् । 
२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका आकाङ्क्षी रहेका कुर्मीले अवसर नपाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखि असन्तुष्टी पोखीरहेका थिए ।

लोसपाबाटै उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाको विरुद्ध षड्यन्त्र गरेको भन्दै लोसपा जिल्ला समितिले कारवाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि असन्तुष्ट भएका कुर्मीले जसपा रोजेका हुन् । 

अधिवक्तासमेत रहेका कुर्मी सिरसिया नदि प्रदुषण मुक्त अभियानका अभियानता पनि हुन् । यसअघि कहिलै पनि चुनाव नलडेका कुर्मीलाई २ पटक निर्वाचित भइसकेका पूर्व मन्त्रीसमेत रहेका चौरसिया भारी पर्ने देखिएको हो । 

क्षेत्र नम्बर २ मा जसपाबाट कुनै बलियो उम्मेदवार नभएपछि कुर्मीलाई उम्मेदवार बनाएको विश्लेषण यहाँको राजनीतिक बृतान्तमा हुने गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता स्वर्गीय गोखुल प्रसाद कुर्मीका छोरा कुर्मी जसपाका उम्मेदवार भएपनि उनको पारिवार भने राप्रपामा आस्थावान परिवार हो ।  

कुर्मीका भाई जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हुन् । राप्रपाबाट स्थानीय तहको चुनावमा उपमेयरमा लडेकी बिना जैसवाल उनकी बुहारी हुन् ।

उनी राप्रपाबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार पनि हुन् । यसले गर्दा कुर्मीलाई घरैबाट असहयोग हुने स्पष्ट हुन्छ । किनभने यही क्षेत्रबाट राप्रपाका उम्मेदवार नरेश कुमार साह छन् । तसर्थ उनका भाई, बुहारीसहितका परिवारबाटै राप्रपालाई भोट जाने हुँदा कुर्मीले घरकै पारिवारीक भोट पनि नपाउने देखिएको हो । 

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाबाट उम्मेदवार बनेका नरेश भारतीय नागरिक हुन् । भारतको विहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहले २०६३ सालको नागरिकता टोलीबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साले पुष्टि नै गरीसकेको छ । पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृह मन्त्रालयमा सिफारिस समेत गरीसकेको छ । 

Back to top