×

वीरगञ्ज, २८ असोज । समयसमयमा विवादमा आइरहने वीरगञ्जस्थित तराई हस्पिटलको लापरवाहीका कारण एकजना महिलाको ज्यान जोखिममा परेको छ ।

आफूलाई वीरगञ्जकै ठूलो र राम्रो बताउने तराई  अस्पतालकी चिकित्सक डा. तरुन्नुम खातुनले लापरवाही पूर्वक शल्यक्रिया गर्दा महिलाको ज्यान जोखिममा परेको हो ।

वीरगञ्ज महानगर वडा नम्बर १४ पिपरा निवासी रामबालक पण्डितकी ४३ वर्षीया पत्नी सीमा देवीको पाठेघरको शल्यक्रिया गर्ने क्रममा चिकित्सक डा. खातुनले मूत्रथैली काटिदिएकी पछि महिलाको ज्यान जोखिममा परेको छ । अहिले उनि मृत्युसँग युद्ध लडिरहेकी छन् ।

डा. रोशन कुर्मीद्वारा सञ्चालित अस्पतालमा महिलाका आफन्तजनले बुधबार विवाद पनि गरेका छन् । विवाद पश्चात त्यहाँ प्रहरी पनि पुगेको थियो । 

आफन्तका अनुसार पाठेघरको शल्यक्रिया गर्ने क्रममा डा. खातुनले सीमा देवीको  पिसाब नली काटी दिएकी छन् । 

हाल महिलालाई थप उपचारका लागि काठमाडौँस्थित मेडीसिटी अस्पताल लगिएको छ ।

सीमा देवीलाई पाठेघरको शल्यक्रियाको लागि तराई अस्पतालमा मंगलवार दिउँसो १० बजे भर्ना गरिएको र त्यसको साढे नौ घण्टापछि शल्यक्रिया गरिएको थियो । 

शल्यक्रिया भएको १८ घण्टापछि पनि सीमा देवीलाई पिसाब नभएपछि उनको मूत्रथैली काटिएको रहस्योद्घाटन भएको हो ।

यसबारेमा अस्पतालका डा. जमीनले सीमा देवीको मिर्गौलाको आकार घटबढ भइरहेकाले अविलम्ब काठमाडौं लैजान सुझाव दिएको बताए । उनलाई काठमाडौं लगिएको छिमेकी कमसुलले बताए ।

यसबारे डा खातुनले माइक्रोस्कोपबाट चेकजाँच गर्दा समस्या देखिएपछि काठमाडौं लैजान सुझाव दिएको प्रतिक्रिया दिएकी छन् ।

सोही रिपोर्ट वीरगञ्जका एकजना सर्जनले हेरेपछि सीमादेवीको शल्यक्रिया गरिएको पाठेघरको नली पिसाबकै नलीमा बाँधिएकोले समस्या भएको बताएको सीमाका छोरा कृष्णमुरारी प्रजापतिले बताए ।

छोरा प्रजापतिले अस्पतालका तीन/चारजना चिकित्सकले पनि शल्यक्रियाको क्रममा गलती गरेको स्वीकारेको दाबी गरेका छन् ।

अस्पतालका मार्केटिङ र प्रशासनिक शाखाका कर्मचारी दिलीपराउत कुर्मीले शल्यक्रियाको बेलामा पिसाबको नली बाँधिएको बताए । उनले पिसाबको नलीको बनावट अलि गाह्रो खालको रहेकोले शल्यक्रिया गर्न पनि धेरै समय लागेको भन्दै अस्पतालको लापरवाहीबारे ढाकछोप गर्न खोजे । 

उनले एक/दुईवटा मामिलामा यस प्रकारको समस्या देखा परिरहेको प्रतिक्रिया दिँदै घटना सामान्य रहेको बताए ।

यो पनि पढ्नुहोस् - तराई अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु, परिवारजनद्वारा प्रदर्शन

अस्पतालको लापरवाहीका कारण डेढ वर्ष पहिला पनि एकजना विरामीको मृत्यु भएको थियो । ग्याँसबाट पिडित भएर अस्पताल भर्ना भएका एकजना विरामीको अस्पतालले ज्याननै लिएको थियो ।

देखिने संरचना बनाएर आफूलाई ठूलो र राम्रो दावी गर्ने तराई अस्पताल ज्यानमारा बन्दै गएको स्थानीय बताउँछन् । सानो समस्या लिएर भर्ना भएपनि अस्पतालले ठूलो बताएर रकम ठग्ने, जबर्जस्ती लामो समयसम्म भर्ना गर्ने, अनावश्यक जाँच गराउने, महँगो औषधी दिने गरेको त्यहाँबाट उपचार गराएर फर्केका विरामीले बताउने गरेका छन् ।

Back to top