×

वीरगञ्ज १९ असोज । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ बाट नक्कली नेपाली रूपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्लामा पर्ने भासर मछहा ग्राम पचायत ८ भन्सार चोकका मो. निजामुदिनको छोरा वर्ष २१ को मो. रेजाउल्लाह छन् ।

उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ एक हजार दरको नक्कली नोट ३१ थान अर्थात् ३१ हजार बरामद भएको जनाएको छ । नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गर्दा १ हजारको नक्कली नोट दिएका थिए ।

पसल संचालकले नक्कली नोट दिएको भनी ईलाका प्रहरी कार्यालय नरहामा जानकारी गराए । त्यसपछि तत्काल घटनास्थल पुगेर प्रहरीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको थियो । असोज १५ गते दिउँसो पक्राउ परेका उनलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको छ ।

सिरहा प्रहरीका अनुसार रेजाउल्लाहको साथबाट उनको सक्कलै आधारकार्ड चाँदीको सिक्री, औठी र ब्रिसलेट १ र १ थान, श्री सिताराम लेखिएको बिल २ पाना, पाईलट चुरोट १ प्याकेट र रेडमी कम्पनीको मोबाईल १ थान समेत फेला परेको छ ।‌

 

Back to top