×

वीरगञ्ज १९ असोज । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो नलगाउँदा एमाले, जसपा, लोसपा, राप्रपालगायतका दलहरु पनि पर्ख र हेरको रणनीतिमा छन् । भित्र भित्र नाम टुंगो लागेपनि दलहरुभित्र हुने सम्भावित क्षतिलाई आँकलन गरेर सार्वजनिक नगरिएको चर्चा पनि छ ।

सत्ता गठबन्धन र एमालेसहितको गठबन्धनले टिकट बाँडफाँटमा आफ्नै पार्टीका आकांक्षीलाई समेत रोक्नुपर्ने अवस्था बनेको छ । यसले पनि दलहरुभित्र असन्तुष्टि बढेर पार्टी परित्यागका घटनाहरु बढ्न सक्छन् । यसकारण पनि उम्मेदवारी दर्ताको विहान या अघिल्लो दिन रातिमात्र नाम सार्वजनिक हुनसक्छ ।

एक अर्कोको उम्मेदवार हेरेर आफ्नो तर्फबाट उम्मेदवार खडा गर्ने तयारीमा दलहरु छन् । गठबन्धनको उम्मेदवारको क्षमता, लैङ्गिक, जातीय र धार्मिक विषय हेरेर आफ्नो उम्मेदवार चयन गर्ने रणनीतिमा पनि दलहरु छन् ।

सूचीहरु दलहरुले लगभग तय गरिसकेका छन् । गठबन्धनमा पनि लगभग तय भइसकेको छ । सार्वजनकि भने रणनीतिक तरिकाले २२ असोजको राति या २३ असोजको विहानमात्र तय गर्ने तयारी भएको बुझिएको छ ।

Back to top