×

वीरगञ्ज १८ असोज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । 

पछिल्लो समय जसपा गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको समाचार छ । यो समाचार आएसँगै कांग्रेस सभापति देउवाले जसपालाई गठबन्धनमै राख्न हरसम्भव प्रयास गरेका छन् । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । पछिल्लो समय जसपाले एमालेसँग चुनावी सहकार्यको लागि खुट्टा उचालेको छ ।

अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दसैंभित्रै एमालेसँग चुनावी तालमेल हुनेबारे ब्रिफिङ गरेका छन् । यादवले एमालेसँग सहकार्यको लागि प्रयास गरेपछि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमै राख्न जसपालाई केही बढि सिट दिने वचन दिएका छन् ।

अहिले यादवलाई फकाउनको लागि गठबन्धनका शीर्ष नेताहरु नै लागिपरेका छन् । देउवाले पनि जसपालाई एमालेसँग मिल्न नदिनको लागि हरसम्भव प्रयास गरेका छन् । यसको लागि उनले कांग्रेसका प्रभावशाली नेताहरुलाई पनि जसपाका नेताहरुसँग वार्ताको लागि खटाएका छन् ।
 

Back to top