×

वीरगञ्ज १७ असोज । वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिरमा आज महाअष्टमीका दिन बिहानै देखि पशुपक्षीको बलि चढाउने भक्तजनको भीड लागेको छ ।

गहवामाई मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधिअनुसार पूजाआर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुहरूले भाकल गरेको पशुपक्षीको बलि दिने कार्य बिहानदेखि सुरु भएको हो ।

गहवामाई मन्दिरमा बलि चढाउने, महिलाले देवी दुर्गा भवानीको ‘खोइछ’ (पोल्टा) भर्ने र पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ ।

यस मेलामा माईको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको हातमा प्रसाद स्वरूप नरिवल, लड्डु र फूलमालासँगै माईलाई ओढाउने चुन्दरी लिएर दर्शनका लागि लामबद्ध भएर उभिएको दृश्य आकर्षक देखिन्छ । गहवामाई मन्दिरमा बलि चढाउदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
 

Back to top