×

वीरगञ्ज, १३ असोज ।  अखाद्य वस्तु मिसावट गरी बिक्रि वितरण गरेको गुनासोपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित प्रगतिटोलमा रहेको घ्यू उद्योगमा छापामारी गरिएको छ । 
वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्ज र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साको टोलीले घ्यू उद्योगमा छापा मारेको हो । 

छापामारीको क्रममा गोदामबाट घ्यूका डब्बा, स्टोभ ग्यास, भाँडाकुँडा र बिर्काे सिल गर्ने मेशिन फेला परेपनि अखाद्य वस्तु मिसावटको कुनै प्रमाण फेला नपरेको बताइएको छ । 

उद्योगले वनस्पति तेलमा केही केमिकलहरू मिलाएर शुद्ध घ्यूको लेबल लगाएर बिक्री गर्ने गरेको आरोप छ । उद्योगबाट उत्पादित घ्यू प्रतिकिलो १ हजार १ सय रुपैयाँको दरले बिक्री हुने गरेको खरिद गर्ने सेवाग्राहीले बताए ।

रौतहट नगरपालिका वडा नम्बर २ गम्हरिया निवासी सुशीला देवीको नाममा शुभमङ्गल पूजा घ्यू प्रोडक्ट्स दर्ता भएको देखिएपनि अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ । किर्ते कागजातको आधारमा केही माफियाहरूले सो उद्योग सञ्चालन गरेको हुन सक्ने टोलीको अनुमान छ । २०७६ सालमा घरेलु तथा साना उद्योगमा वार्षिक एक करोड पूँजी देखाएर उद्योग दर्ता गरिएको देखिएको टोलीले जनाएको छ ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका प्रमुख बिक्की राउत, उपभोक्ता संरक्षण मञ्चका उपाध्यक्ष अजय अधिकारी, केन्द्रीय सदस्य धीरज शर्मा, प्रदेश अध्यक्ष केसी लामिछानेसहित सुरक्षाकर्मी एवम् सञ्चारकर्मीहरु रहेका थिए । 
 

Back to top