×

वीरगञ्ज ११ असोज । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमति नजिक पुगेका हुन् ।

यता मधेश प्रदेशमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेका छन् ।  विभिन्न समाचार स्रोतहरुलाई मान्ने हो भने पर्साका ४ क्षेत्र मध्ये ३ वटा क्षेत्र जसपाको भागमा पर्ने भएको छ भने १ क्षेत्र कांग्रेसले लिने भएको छ । पर्सा क्षेत्र नम्बर १, २ र ३ जसपालाई दिने र क्षेत्र नम्बर ४ कांग्रेसलाई दिने सहमति भएको बुझिएको छ । 

पर्सा क्षेत्र नम्बर १ बाट जसपाका वन तथा वातावरण मन्त्री प्रदीप यादवको उम्मेदवारी पक्का छ । मन्त्री यादव यसअघि यसै क्षेत्रबाट निर्वाचित सांसद् पनि हुन् । यादवलाई क्षेत्र नम्बर १ बाट निर्विकल्प उम्मेदवार भन्न पनि सकिन्छ । उनि विरुद्ध नेकपा एमालेका वासरुद्दीन अन्सारीले उम्मेदवारी दिने चर्चा चलेपनि यसको टुंगो लाग्न सकेको छैन । कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले यस क्षेत्रमा दावी गरेपनि गठबन्धनका कारण उनलाई टिकट पाउने छाटकाट देखिँदैन ।

त्यस्तै क्षेत्र नम्बर २ बाट जसपाकी प्रदेशसभा सदस्य करिमा बेगम र लोसपा त्यागेर जसपा प्रवेश गरेका सुरेन्द्र कुर्मीको नाम अगाडि आइरहेको छ । त्यसैगरी क्षेत्र नम्बर ३ बाट निलम्बित सांसद् हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्ताको जसपाबाट नाम सिफारिस भएको छ । उनलाई क्षेत्र नम्बर ३ बाट जसपाले उम्मेदवार बनाउने लगभग तय छ ।

कांग्रेसको तर्फबाट क्षेत्र नम्बर ४ बाट रमेश रिजाल उम्मेदवार तय भएका छन् ।    

यसै गरि सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २ सुनसरी १ जसपालाई दिने समहति जुटेको समाचार स्रोतको दावी छ ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ ।

बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४÷८५ सिटमा झर्ने संकेत दिएका छन् ।

कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी जसपाबीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ ।

Back to top