×

वीरगञ्ज, ६ असोज ।  निर्वाचन आयोगले पर्सा बारासहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।
अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ ।प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ । पर्सामा ४ जना निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश विनोद कुमार पोखरेललाई पर्साको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्याधिवक्ता सुशिल देवकोटालाई निर्वाचन क्षेत्र नम्बर २, योगनाथ ढकाललाई ३ र उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका उपरजिस्ट्रार रमेश श्रेष्ठलाई क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृत नियुक्त गरिएको छ । 
 

Back to top