×

वीरगञ्ज, ६ असोज ।  “पहिला हाम्रो परिवारको खुसी खोसियो, अहिले न्याय”, संविधान सभा सदस्य नेजमा आलमले दुखेसो पोखिन् । नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा आजिवन कारावासको सजाय पाएका नेकपा एमालेका पूर्व सांसद रामचन्द्र कुशवाहा रिहा भएपछि आलमकी श्रीमतीसमेत रहेकी नेजमाले आक्रोश पोखेकी हुन् । 

आजिवन काराबासको सजाय भोगिरहेका प्यासी संविधान दिवसकै अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले जेलमुक्त गरेपछि बुधवार बाराको परवानीपुरमा आलम परिवारले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । 

प्रदर्शनकै क्रममा आलमकी श्रीमती नेजमाले  भनिन्, “मेरो श्रीमानलाई मारेर बालबच्चालाई टुहुरो बनाउने व्यक्तिलाई छोडेर सरकारले गलत नजिर बसालेको छ । खासमा असल चाललन भएका र अन्य सामान्य मुद्धाका व्यक्तिहरुको सजाय मिनाहा गर्नुपर्नेमा आजिवन काराबासको सजाय काटिरहेको हत्याराको सजाय मिनाहा गर्नु ठीक हैन ।” ८ वर्ष ५ महिनाको अवधि नै आजिवन हो भन्दै उनले प्रश्न गरेकी छिन् । पहुँच हुनेहरु हत्यारा भएपनि छुट पाउने व्यवस्थाप्रति आपत्ती जनाउँदै आलमका छोरा मोबिन आलमले आफुहरुमाथि अन्याय भएको बताए । राजनीतिक प्रभावकै कारण बुबाको हत्यारालाई कैद मिनाहा गरेर छोडेको बताउँदै उनले पुनः पक्राउ नगर्दासम्म विरोधलाई जारी राख्ने बताए । 

बाराको क्षेत्र नम्बर ४ बाट दोस्रो पटकको संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट महमुद आलमले संविधान सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गरेको भोलीपल्टै २०७० असोज १८ गते परवानीपुरको चावासोती दालमिल अगाडि उनीमाथि गोली प्रहार भएको थियो । 

गोली प्रहारबाट गम्भिर घाइते भएका आलमको उपचारको क्रममा काठमाण्डौको टिचिङ् अस्पतालमा २४ असोज २०७० मा मृत्यु भएको थियो । आलम एमाले निकट मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले घटनाको अनुसन्धान गर्दा प्यासीको संलग्नता देखिएपछि १० कार्तिक २०७० मा उनी पक्राउ परेका थिए । जिल्ला अदालत बाराले १५ बैशाख २०७३ मा प्यासीलाई १० वर्षको जेल सजाए सुनाएपछि उक्त फैसलाबाट असन्तुष्ट आलमकी श्रीमती नेजमाले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन गरेकी थिइन् । 

वीरगञ्जका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले आलमको हत्याका मुख्य योजनाकार रहेको ठहर गर्दै प्यासीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसा सुनाएको थियो । सोही हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने विपिन यादवलाई १० वर्षको जेल सजाय सुनाइएको थियो ।  
 

Back to top