×

वीरगञ्ज, ५ असोज ।  जसपा बागमती प्रदेशका प्रदेश सचिव अजय निरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन् । दुवै सदनबाट पास भइसकेको नागरिकता विद्येयक प्रमाणीकरण नगरेपछि उनले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेका हुन् ।

यात्रा डेलीसँगको संवादमा निरालाले भने, “संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।” भनी स्पष्ट रूपमा उल्लेख छ । तर राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लङ्घन गर्नु भएको छ । संवैधानिक र शृङ्गारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउने कोशिश गर्दै वीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको देखिन्छ । यो आफ्नै देशको जनता विरुद्धको विभेद मानसिकताले गरिएको षडयन्त्र हो । संविधानको घोर उल्लङ्घन गर्ने राष्ट्रपतिको कदमको भत्सर्ना गर्दछु ।”

निराला थप्छन्, “संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विद्येयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यस अनुरूप नेपाल नागरिकता ऐन संशोधन विद्येयक ऐन बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्न आग्रह गर्दछु ।”

देश र जनताको राष्ट्रपति नभएर कुनै अमूक पार्टी विशेषको मतियार भएको कुरा  दुवै सदनबाट पारित नागरिकता विद्येयक प्रमाणीकरण नगरेर प्रमाणित भएको निरालाको भनाई छ । 
संविधानको घोर उल्लङ्घन र आफ्नै देशका जनता विरुद्ध षड्यन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य नहुने भन्दै राष्ट्रपति भण्डारीले तत्काल राजीनामा दिनुपर्ने उनको माग छ ।
 

Back to top