×

वीरगञ्ज, ५ असोज । बहुप्रतिक्षित नागरिकता विद्येयक पारित नभएको आक्रोशमा वीरगञ्जमा राष्ट्रपतिको राजीनामा माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) का भातृ संगठन समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साको सयुँक्त नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा माग गरेका हुन् ।

७ लाख नागरिकलाई नागरिकता बिहिन बनाएर असंवैधानिक कदम चालेकी राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने विरोध कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले बताएका छन् । 

वीरगञ्जको आदर्शनगरस्थित लोहारपट्टीमा  जसपाका विद्यार्थी, युवा, देखि जिल्ला, प्रदेश र केन्द्रसम्मका सयौँ नेताहरुको उपस्थितीमा कालो पट्टी बाँध्नुका साथै टायर बालेर गरिएको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिको विरुद्धमा नाराबाजी गरिएको हो । विरोध प्रदर्शनमा सहभागीहरुले, ‘राष्ट्रपति विद्या देवी भण्डारी मुर्दावाद, राष्ट्रपति राजीनामा दे, ७ लाख नागरिकलाई नागरिकता बिहिन बनाउन पाइँदैन’ लगायतका नारा लगाएका थिए । 

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राकी र समाजवादी युवा संघ पर्साका अध्यक्ष गौरव वर्माको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई मधेश प्रदेशका प्रदेश सभा सदस्यद्वय करिमा बेगम, भिमा यादव, जसपा पर्साका सहईन्चार्ज महाराज यादव, जसपा पर्साका सचिव तबरेज अहमद, जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादव, युवा नेता मुकेश द्विवेदी, जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेकमहमद अन्सारी लगायतले सम्बोधन गरेका थिए । 

लाखौ नागरिकलाई अनागरिक बनाएर प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट समेत पारित भइसकेको नागरिकता विद्येयक पारित नगर्नुमा राष्ट्रपतिको नियतमा खोट देखिएको वक्ताहरुको भनाई छ । यथाशिघ्र राष्ट्रपति भण्डारीले राजीनामा नदिए थप आन्दोलन गर्ने पनि वक्ताहरुले सम्बोधनका क्रममा चेतावनी दिएका छन् । 

कार्यक्रममा जसपा पर्साका जिल्ला सदस्य बिरेन्द्र यादव, नेता तुफेल अख्तर, समाजवादी विद्यार्थीका केन्द्रीय उपमहासचिव जाहिद प्रवेज, केन्द्रीय सदस्य सरोज यादव, शशी पाण्डे, मनमोहन पाण्डे लगायतको सहभागिता रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । 

May be an image of 12 people, people standing, fire and outdoors

Back to top