वीरगञ्ज ५ असोज । बिना भिसा नेपाल प्रवेश गरी ८६ दिन देखि नेपालको विभिन्न ठाउँ भ्रमण गरिरहेका दुई जना अर्जेन्टिना नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् ।
पासपोर्ट नं. एएसि १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं. एएजि ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो पक्राउ परेको अध्यागमन कार्यालय वीरगञ्जले जनाएको छ ।
२०२२ जुन २७ मा भारतको सुनवलीबाट आउट स्ट्याम्प लगाई बिना भिसा नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर पुनस् २०२२ सेप्टेम्बर २० मा वीरगञ्ज नाका हुँदै भारत जाने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
वीरगञ्ज रक्सौल नाकामा गाडी नं. बिआर ०६ पिडि २८५१ चेकजाँच गर्दा निज दुई व्यक्तिहरु फेला परेको अध्यागन कार्यालयले जनाएको छ ।
दुबै जनालाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालयका कार्यालय सहयोगी ध्रुव कुमार दासलाई जिम्मा लगाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको अध्यागमन कार्यालय वीरगञ्जले जनाएको छ ।