×

नेपालमा छायांकन गरिएको बलिउड फिल्म 'उचाई'को पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा सगरमाथा देख्न सकिन्छ। 

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो तर पोस्टरमा अमिताभ नै प्रस्तुत छन्।

सामाजिक सञ्जालमा उक्त पोस्टर सार्वजनिक गर्दै उनले आफूलाई गर्व लागेको बताएका छन्। 'हाम्रो फिल्म उचाईको दोस्रो पोस्टर सेयर गर्दा मलाई गर्व महसुस भइरहेको छ। आउनुस् म र मेरो साथी अनुपम खेर र बोमन इरानीको मित्रता र राेमाञ्चित जीवनलाई परिवारसँग साट्नुस्,' उनले लेखेका छन्। 

मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन र अनुपमसँगै परिणिती चोपडा र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्। 

यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

Back to top