×

बारा, ३० भदौ ।  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर बारामा कांग्रेसभित्र फर्जी कागजपत्रको साहारामा एकले अर्को पक्षलाई कारवाही गरेको पत्र सार्वजनिक भएको छ ।
खानेपानी मन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन भएको ५ महिना पुरानो मितिको पत्र मंगलवार एकाएक सार्वजनिक भएको छ ।  

सिम्रौनगढ नगरपालिकाका पूर्व नगरप्रमुख बिजयशंकर यादवका स्वकिय सचिव तथा जिल्ला कार्यसमिति सदस्य अरुण कुमार यादव (गड्डु) को हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जानकारी गराईएको छ । स्थानिय तह निर्वाचन पछि गठन भएको कांग्रेस बारा जिल्ला अनुशासन समिति संयोजक विनोद मणि महतो हुन् । तर, मंगलवार पूर्व मेयरका स्वकिय सचिव यादवद्धारा हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको पत्र सार्वजनिक भएको छ ।

‘पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी  कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई निलम्बन गरिएको व्योहोरा अनुरोध छ’ पत्रमा उल्लेख छ । सो पत्र सार्वजनिक भएलगत्तै चौधरीको सचिवालयले विज्ञप्ती निकालेर यादवद्धारा हस्ताक्षरित पत्र भाम्रक, झुठो र फर्जी भएको जनाएको छ । 

‘कांग्रेस जिल्ला अनुशासन समिति बाराको नाममा अरुण कुमार यादव (गड्डु) संयोजक भनि  हस्ताक्षर भएको पत्रमा पार्टीका नेताहरु निलम्बन गरेको पत्र भ्रामक, झुटो र फर्जी भएको जनाईएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ‘अरुणकुमार यादव (गड्डु) जिल्ला कार्यसमिति सदस्य मात्रै रहेकोले उहाँले यो कार्य नगरेको हुनुपर्ने हो, तर यदि उहाँले नै गरेको हो भने यस्तो कार्य नगर्न सचेत गराउदै पार्टीको विधान र नियमावलीको अधिनमा रहि कार्य गर्न र यसो नगरेमा कांग्रेसको विधान   अनुसार कारवाही प्रकिया अगाडी बढ्ने तर्फ सचेत गराईएको छ’ ।

कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले खानेपानी मन्त्री चौधरी विरुद्ध जिल्ला अनुशासन समितिमा कुनैपनि उजुरी नै नपरेको र उनि विरुद्ध कारवाही भएको भनि सार्वजनिक भएको पत्र फर्जी भएको बताएका छन् । ‘त्यो पत्र फेक हो उहाँ विरुद्ध कुनै कारवाही भएको छैन्’ जिल्ला सभापति यादवले भने । केन्द्रमा कांग्रेस भित्र सत्तापक्ष प्रतिपक्षको लडाँईको असर जिल्लामा पनि छरपष्ट्र भएको छ । 

बारामा देउवा, कोईराला, सिटौला पक्ष गरी झण्डै आधा दर्जन गुट–उपगुट छन् । जिल्ला पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुर, खानेपानी मन्त्री उमाकान्त चौधरी समुह बिच गुट अहिले एक अर्का विरुद्ध खुलेर लागेको छ ।   यि दुवै समुहले छुटछुट्टै समिति गठन गर्ने र एकले अर्का माथि कारवाही गर्ने श्रंखला शुरु  गरेका छन् । 

यसअघि स्थानिय तह निर्वाचनमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनाललाई हराउन महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी खुलेरै लागेको भन्दै उनिविरुद्ध साधारण सदस्य समेत नरहने गरी जिल्ला अनुशासन समितिले कारवाहीको सिफारिस गरेको थियो ।  चौधरी समुहले महासमिति सदस्य बुढाथोकीलाई कारवाही गरेको पत्र सार्वजनिक भएलगत्तै बुढाथोकी समुहले तत्कालै अर्को छुट्टै अनुशासन समिति गठन गरेर चौधरीलाई कारवाही गरेको पुरानो मितिको पत्र सार्वजनिक गरेको छ ।  

महासमिति सदस्य बुढाथोकीले निजगढ नगरपालिकाका कांग्रेस उम्मेदवार खनाललाई हराउन एमालेसँग मिलेर लाखौ रुपैयाँ खर्च गरेको टेलिफोन कुराकानीको अडियो समेत सार्वजनिक भएको छ ।  कांग्रेस बारा जिल्ला उपसभापति मनोजकुमार भट्टले जिल्ला सभापति राजेश राय यादवको डिजाईनमा बुढाथोकीलाई कारवाही सिफारिस भएको आरोप लगाएका छन् । ‘हामीले पनि अनुशासन समिति बनाएका छौ, बहुमत सदस्यहरु हामीसँग छन्, उनिहरु अब के गर्छन् हेरौ त्यसैअनुसार हामी पनि अगाडी बढ्ने हो’ जिल्ला उपसभापति भट्टले भने । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिदै जाँदा कांग्रेसभित्र देखिएको अन्तरद्धन्द्ध निरन्तर अगाडी बढे अगामी निर्वाचनमा कांग्रेस उम्मेदार मात्रै होईन गठबन्धन भित्रकै उम्मेदवारहरुका लागि जोखिमपुर्ण हुने देखिएको छ ।  

बारा क्षेत्र नम्बर १ मा ४ पटकसम्म निरन्तर चुनाव जितेका खानेपानी मन्त्री चौधरीलाई मंसिर ४ गते हुने संघ, प्रदेश निर्वाचन पार्टीभित्रबाट असहयोग हुन सक्ने जानाकारहरु बताउछन् । 

उपसभापति द्धारा बिहानै अर्को अनुशासन समिति गठन 
खानेपानी मन्त्री चौधरीलाई कारवाही गरेको पत्र नै फर्जी हो भन्दै  मन्त्रीको सचिवालयले खण्डन गरेपछि बुधवार बिहानै उपसभापति मनोजकुमार भट्टको सभापतित्वमा अर्को अनुशासन समिति गठन भएको छ ।

भट्टको सभापतित्वमा बिहानै बसेको बैठकले अरुण कुमार यादव (गड्डु) को संयोजकत्वमा अर्को अनुशासन समिति गठन गरेको छ । जसमा दिपप्रकाश गुप्ता, प्रिंयका कुमारी दास सदस्य रहेका छन् ।  सो समितिले यसअघि विनोद मणि महतो संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य शम्भु बहादुर बुढाथोकीलाई कारवाही सिफारिस गरेको पत्र फर्जी भएको विज्ञप्ति मार्फत जनाएको छ । 
 

Back to top