×

वीरगञ्ज, २८ भदौ । नेपालमा पहिलो पटक “द पोइट आइडल” सञ्चालन हुन लागेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी “द पोइट आइडल” का क्रिएटर तथा डिरेक्टर अमन प्रताप अधिकारीले नेपालमा पहिलो पटक द पोइट आइडल हुन लागेको आधिकारीक घोषणा गरेका हुन् । द पोइट आइडलका क्रिएटर तथा डिरेक्टर अधिकारीले विगत ५ बर्ष देखिको परिकल्पनाले सार्थकता पाउन लागेकोमा खुशी व्यक्त गरे । 

नेपाली गीति साहित्यमा ठूलो योगदान दिएका नेपालका एक बहुप्रतिभाशाली साहित्यकार एवम् गीतकार क्षेत्र प्रताप अधिकारी जापानी साहित्यका सबैभन्दा धेरै कृतिहरू नेपाली भाषामा अनुवाद गर्ने अनुवादक पनि थिए । 

उनले नेपाली साहित्यलाई दिएको अतुलनीय योगदानलाई जीवन्त राख्नुका  साथै स्थायित्व प्रदान गर्ने उद्देश्यका साथ उनका छोरा अमन प्रताप अधिकारीले द पोइट आइडलको परिकल्पना गरेका हुन् । 

जसमा साहित्यलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ । उक्त कार्यक्रममा फरक क्षमताको नाप र तौल गरिने छ भने आफ्नो कवितालाई मौलिक रुपमा वाचन गर्ने शैलीलाई पनि प्रोत्साहन गरिएको छ । यस कार्यक्रममा सहभागी हुनका लागि अनलाइन आवेदनको व्यवस्था गरिएको छ । कार्यक्रम प्रतिस्पर्धी भएको हुनाले प्रतियोगीहरू छनोट प्रक्रिया सकिए पछि प्रतियोगीहरूलाई विषय प्रदान गरिने छ । 

प्रतियोगीहरूको पहिलो भेट क्रिएटिभ टिमसँग हुनेछ । कार्यक्रमको विभिन्न चुनौतीहरूलाई पार गर्दै अन्त्यमा भोटिङ मार्फत एक जना विजयी घोषित हुनेछन् । अमन प्रताप अधिकारीले निर्देशन गर्ने यस कार्यक्रमको निर्णायक मण्डलमा  विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त रहेका छन् । 
 

Back to top