×

वीरगञ्ज, २७ भदौ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा निर्मित पुल २ महिना नबित्दै भत्किएको छ । मधेश प्रदेशकी प्रदेश सभा सदस्य भिमा यादवको संसदीय विकास कोषबाट २५ लाखको लागतमा निर्मित पुल २ महिना नबित्दै भत्किएको हो । 

आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा बनाइएको पुल मुनी राखिएका ४ वटा ह्युम पाइप पनि भत्एिका छन् । सामान्य बाढी समेत थेग्न नसक्ने गरी पुल भत्किदा कमिशन खान र बजेट पचाउनकै लागि पुलको योजना पेश गरेर योजना ल्याइएको स्थानीयको आरोप छ । 

पार्टीप्रति कुनै योगदान नभएपनि आर्थिक चलखेलको आधारमा समानुपातिकबाट प्रदेश सभा सदस्यमा मनोनयन भएकी भिमा यादवले आफ्ना कार्यकर्ता पाल्न र कमिसन खानका लागि दवाव दिएर भुक्तानी लिएको स्रोतले जनाएको छ । अन्तिम समयमा उपभोक्ता समितिमार्फत बनाइएको कल्भर्ट पुलको आधा भन्दा बढी भागमा ढलान समेत नभएको प्रत्यक्षदर्शी बताउँछन् ।

कल्भर्ट पुलको अवस्था  नियाल्ने बित्तिकै कमशल र गुणस्तरहिन तरिकाले निर्माण गरिएको स्पष्ट हुन्छ । पूर्ण रुपमा निर्माण सम्पन्न गर्न नसकेपछि उपभोक्ता समितिले २५ लाख मध्ये १४ लाख रुपैया मात्रै भुक्तानी पाएको थियो ।

गुणस्तरहिन काम गरेको भन्दै कल्भर्ट पुल निर्माणमा संलग्न उपझोक्ता समितिसहित ईन्जिनियरलाई कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । कमशल सामाग्री प्रयोग नभएको दावी गर्दै उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले बाढी आएका कारण पुल भत्केको हुन सक्ने बताए । 

प्रदेश सभा सदस्य यादवले आफ्नो काम योजना दिने भएको बताउँदै पुलको गुणस्तरको बारेमा थाहा नहुने प्रतिक्रिया दिइन् । अहिले उक्त कलभर्ट पुलको निर्माण कार्य सम्पन्न नभएको बताउँदै उनले आर्थिक वर्ष २०७९/८० मा थप बजेट उपलब्ध गराउन पहल गर्ने पनि बताएकी छिन् । 
 

Back to top