×

वीरगञ्ज, २६ भदौ ।  भारतको विहार सितामढी जिल्ला बेलबाट नेपाल आएका नरेश कुमार साहले  आगामी मंसिर ४ गते हुने निर्वाचनमा चुनाव लडेर देश चलाउने निकायमा पुग्ने मनसाय बनाएका छन् । 

सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नम्बर ८ मा जन्म देखाएर भुठो विवरण पेश गरी नेपाली नागरिकता लिएर वीरगञ्जमा बसोबास गर्दै आएका साहले राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नका लागि पार्टीका विभिन्न कार्यक्रमहरुको खर्च बेहोर्ने गरेको पाइएको छ । 

२०७९ साउन १६ गते वीरगञ्जको नगर सभा गृहमा राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आथित्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पनि उनले लाखौ खर्च गरेर भोज भतेर गरेका थिए । 

नेपाली र भारती दुवै नागरिकता भएका साहले भन्सार छलेर काजु, किसमिस लगायतका मसाला एवम् किराना सामाग्रीको व्यापारमार्फत अथाह सम्पती आर्जनसमेत गरेका छन् । वीरगञ्जको माईस्थान विद्यापिठ स्कुल नजिकै उनले ठूलो साम्राज्य नै खडा गरेको पाइएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनको खजान्छीका रुपमा प्रयोग हुँदै आएका कारण पनि उनलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हुन सक्ने टिप्पणी हुन थालेको छ । यति मात्रै नभएर लिङ्गदेनकै गाडीमा सँगै सवार भएको दृश्यले पनि साहलाई काखी च्यापेको हुन सक्ने आंकलन गरिएको हो । साहलाई राप्रपा पर्साले क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो । 

झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका भारतीय नागरिकलाई पार्टीले सिफारिस गरेपछि राष्ट्रियताको कुरा गर्ने राप्रपाप्रति नै प्रश्न उठेको छ । 

यो पनि पढ्नुहोस् ।  राप्रपाका प्रभावशाली नेता नरेश साहको दोहरो नागरिक रहेको खुलासा

Back to top