×

वीरगञ्ज, २४ भदौ ।  विगत केही दिनदेखि व्यापक रुपमा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाह मात्रै भएको प्रहरीको दावी छ । भारतबाट नेपाल प्रवेश गरर गिरोह नै नेपालका विभिन्न सिमा क्षेत्रमा परिचालित भएर बच्चालाई फकाएर चोर्ने गरेको भन्ने हल्ला मात्रै भएको प्रहरीको भनाई छ ।

सामाजिक सञ्जालभरी अफवाह फैलाएर जनतालाई त्रसित बनाउने काम भएको प्रहरीको भनाई छ । पर्सा, बारा लगायतका भारतसँग सीमाना जोडिएका क्षेत्रहरुमा बच्चा चोर्ने मनसायका साथ महिला एवम् अन्य गिरोह नै परिचालित रहेको भनेर सामाजिक सञ्जालमा व्यापाक चर्चा चलीरहेको छ ।

यसर्थ त्यस्तो केही पनि नभएको हुँदा चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । केही दिन अघि छपकैयाबाट स्थानीयले नियन्त्रणमा लिएका महिलाहरु पनि त्यस्तो कुनै किसिमको क्रियाकलापमा संलग्न रहेको पुष्ठि नभएको पनि उनले बताए ।

बच्चा चोरको बिगबिगी हल्ला मात्रै भएको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ । बाराको निजगढबाट बिहिवार स्थानीयले नियन्त्रणमा लिएर बच्चा चोर्न लागेको भनी प्रहरीलाई बुझाएपनि त्यस्तो केही नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानीयले कुटपिट गरेका अधिकांश मागेर खाने र मानसिक सन्तुलन ठिक नभएका व्यक्तिहरू रहेको बोगटीको भनाई छ । अफवाह भएपनि आफ्ना बच्चाहरुको बारेमा सँधैभरी सचेत हुनुपर्ने र लापरवाही नगर्न उनले आग्रह गरेका छन् । 
 

Back to top