×

वीरगञ्ज, २४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यदेखि महासंघका जिल्ला अध्यक्ष सम्म सांसदका लागि पर्साबाट सिफारिस भएका छन्। पर्सा जिल्लामा रहेर पत्रकारिता गरीरहेका पत्रकारहरु विभिन्न क्षेत्रबाट प्रदेश सभा सदस्य एवम् प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका हुन् ।

पर्साको क्षेत्र नम्बर १ बाट समानुपातिकबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश भएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने सिफारिस भएका छन् । नेपाल पत्रकार महासंघ पर्साको सदस्य, सचिव, अध्यक्ष हुँदै मधेश प्रदेशको उपाध्यक्षसमेत भइसकेका लामिछाने हाल प्रेस चौतारी नेपालको तर्फबाट नेपाल पत्रकार महासंघमा बिजयी भएका एक मात्र केन्द्रीय सदस्य हुन् ।

नेकपा एमालेको क्षेत्रीय समन्वय समितिको बैठकले लामिछानेको नाम सिफारिस गरेको हो । लामिछानेको नाम प्रतिनिधि सभा सदस्य मात्रै नभएर प्रदेश सभा सदस्यका लागि पनि सिफारिस भएको छ। पर्साको क्षेत्र नम्बर ३ (क) बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि पनि उनको नाम सिफारिस भएको हो।

लामिछाने नै सिफारिस भएको क्षेत्र नम्बर १ बाटै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जराको नाम पनि सिफारिस भएको छ । बन्जरा नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष पनि हुन्। वीरगञ्जबाट सञ्चालित आवाज ब्रोडकास्ट मिडियाका प्रबन्ध निर्देशक समेत रहेका बन्जराको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकबाट सिफारिस गरिएको नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले जानकारी दिए । 

बन्जरा नेकपा एमाले जिल्ला कमिटी पर्साका सदस्यसँगै जिल्ला प्रचार विभागका प्रमुख पनि हुन् । प्रेस काउन्सिलका सदस्य लालबाबु शेष पनि समानुपातिक सांसदकै प्रतिस्पर्धामा छन् । लामिछाने र बन्जराकै सिफारिस भएको क्षेत्रबाट लालबाबु शेषको नाम पनि सिफारिस भएको छ। उनी प्रेस काउन्सिलको सदस्यसँगै जनसृष्टि दैनिकका प्रकाशक एवम् सम्पादकसमेत हुन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको छ । पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि तिवारीको नाम समानुपातिकबाट सिफारिस भएको हो। तिवारी नेकपा एमालेको कालिकामाई गाउँपालिका समितिका पूर्व अध्यक्ष हुन् ।

नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्राको नाम प्रदेश सभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस भएको छ । पर्साको क्षेत्र नम्बर ३ (ख) बाट नेकपा एमाले पर्सा जिल्ला समितिका उपसचिवसमेत रहेका मिश्राको नाम सिफारिस भएको हो । उनी ज्योति दैनिकका सञ्चालक एवम् प्रबन्ध निर्देशक हुन् ।

पाँचै जना पत्रकारको नाम समानुपातिकतर्फ सिफारिस भएको बेलामा प्रत्यक्षतर्फ सिफारिस हुने पत्रकार हुन् नेकपा एमाले केन्द्रीय प्रचार विभागका सदस्य महेश दास । नेकपा एमाले वीरगञ्ज महानगर समितिका उपाध्यक्षसमेत रहेका दासको नाम पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि सिफारिस भएको नेकपा एमाले वीरगञ्ज महानगर समितिका सचिव सुन्दर कुर्मीले जानकारी दिए । दास भोजपुरिया एफ.एम.का कार्यकारी निर्देशकसँगै पब्लिक रिडर्स अनलाईन न्युज पोर्टलका अध्यक्ष एवम् प्रधान सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान पनि समानुपातिकबाट प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय समितिले चौहानलाई क्षेत्र नम्बर १ (ख) बाट सिफारिस गरिएको हो । 

Back to top