×

बारा, १२ भदौ ।  आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ३ (ख) मा राज महम्मद रायले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चार दशकदेखि नेकपा एमालेको सक्रिय राजतीतिमा आवद्ध रायले आगामी मंसिर ४ गते हुने आसन्न निर्वाचनमा ३ (ख) प्रदेशसभा सदस्य तर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

एमाले प्रदेश कमिटी सदस्य राय २०४२ सालमा एमालेको गाँउ कमिटी सदस्य, २०४७ सालमा गाँउ कमिटी सचिव, २०५५ सालमा ईलाका कमिटी सदस्य, २०५६ सालमा क्षेत्रिय कमिटी हुदै हाल मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्य र नेपाल मुस्लिम ईत्तेहाद संगठनको केन्द्रीय सदस्य पदमा छन् । 

‘२०४२ सालदेखि पार्टीमा सक्रिय छु, आजसम्म केही अवसर पाएको छैन्, २०७४ को निवार्चनमा प्रदेशसभा सदस्यमा मेरो नाम गएको थियो तर पछि समानुपातिकमा पठाउने सहमती भयो तर, अन्तिम अवस्थामा पार्टीभित्रको गुटबन्दीले मेरो नाम हटाईयो’ रायले भने ‘यसपटकको निर्वाचनमा ३ (ख) मा मेरो दावी छ’  ३ (ख) मा कलैया उपमहानगरको १६ वटा वडा र फेटाँ गाँउपालिकाको ३ वटा वडा पर्दछ । 

निर्वाचन आयोगको पछिल्लो तथ्याकं अनुसार बारा क्षेत्र नं ३ (ख) मा ५० हजार ६ सय ६ मतदाता रहेका छन् जसमध्ये सबैभन्दा धेरै मुस्लिम समुदाय मात्रै २० हजार छन् । मुस्लिम समुदायपछि यादव, कानु, कलवार र दलित समुदायको बसोबास धेरै छ । ‘यो क्षेत्रमा मेरो चुनाव जित्ने सम्भावना प्रवल छ, मलाई टिकट नदिएर अरुलाई दियो भने एमाले कनर्फम हार्छ, कार्यकर्ता र जनताको भावना पनि यहि छ’ रायले भने ‘मलाई टिकट दिने विषयमा जिल्लाका नेताहरुले अध्ययन गरिरहेका छन् ।’

निर्वाचन क्षेत्र नं ३ (ख) मा अधिकाशं वडा कलैया उपमहानगर अन्र्तगत पर्दछन् । स्थानिय तह निर्वाचनमा कलैया उपमहानगरमा प्रमुख, उपप्रमुख दुवै पदमा एमाले बिजयी भएका कारण पनि रायलाई चुनाव जित्न सहज देखिन्छ ।  एमाले प्रदेशसभा सदस्य रहेका राय मतदाताले गठबन्धलाई भोट नदिने  दावी गर्छन् । ‘पञ्चायति कालदेखि आजसम्म म आफ्नो गाँउमा खटेर जनताको हितमा काम गरेका कारण गठबन्धकै साथीहरुले पनि मलाई नै मतदान गर्नुृहुन्छ’ रायले भने  । 

सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका पारस साह बहालवाला प्रदेश सभा सदस्य छन् । आगामी निर्वाचनमा गठबन्धन भित्र र बाहिर दावेदार उम्मेदवारहरु दर्जनौ भएपनि हालसम्म सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी भने अन्यले घोषणा गरेका छैनन् । 

राय मधेशको ग्रामिण भेगमा छोरा र छोरीमा शिक्षामा देखिएको विभेद अन्त्य गर्न, विकास बजेटको सही सदुपयोग गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउछन् । 
‘विकास बजेटको धेरै दुरुपयोग भईरहेको छ, प्रदेश सभा सदस्यहरु पहिले नै २० देखि २५ प्रतिशत रकम लिएर बजेट खर्च गर्दछन्, मेरो उद्देश्य आगामी दिनमा विकास बजेट पुरै सदुपयोग होस् भन्ने हो’ रायले भने ‘उमेरले ५४ वर्ष भए पार्टीमा मेरो योगदान ४० वर्ष भयो अव पनि टिकट पाउदैन भने कहिले पाउने ? मैले जिल्लामा रहेका केन्द्रीय सदस्यहरुलाई जानकारी गराईसकेको छु, मेरो टिकट यसपटक निश्चित जस्तै छ ।’ 
 

Back to top