×

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ।

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौं हेक्टर खेत र दसौं बगैंचाहरू प्रभावित भएका छन्।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक बर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। 

Back to top