×

वीरगञ्ज, २१ साउन ।  भोजपुरी साहित्यकार दिनेश गुप्ताद्वारा लिखित २ वटा भोजपुरी किताबको बिमोचन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले सयुँक्त रुपमा गुप्ताद्वारा लिखित भोजपुरी गजल संग्रह ‘सुतल अब ठीक नइखे’ र भोजपुरी हाइकु संग्रह ‘हिरोशिमा’ को बिमोचन गरेका हुन् ।

नेपाल भोजपुरी समाज वीरगञ्जका अध्यक्ष ध्रुबसिंह ठकुरीको अध्यक्षतामा भएको पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले साहित्य समाजको ऐना भएको बताए । समाजमा व्याप्त कुरिती, कुसंस्कार एवम् अनियमितताको साहित्यमार्फत उर्जागर गरेर समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री राउतको बुझाई छ । उनले भने, “साहित्य समाजको दर्पण हो, यसबाट आम नागरिक पनि जागरुप हुने गर्दछन् । भौतिक सुख शयलसँगै मानिसलाई साहित्य संगीतले आत्मिय सुख प्रदान गर्दछ ।” 

समाजको यथार्थलाई चित्रण गरेर परिवर्तनका लागि कलम चलाउन आग्रह गर्दै उनले भोजपुरी भाषाको संरक्षणका लागि यही आर्थिक वर्षदेखि प्रदेश सरकारले १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने पनि उद्घोष गरेका छन् । 

यता भोजपुरी भाषामाथि मिथिला भाषा हाबी हुँदै गएको भन्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले चिन्ता व्यक्त गरेका छन् । भोजपुरी भाषाको संरक्षण एवम् संवद्र्धनका लागि थुप्रै संघ संस्थाहरु भएपनि सन्तोषजनक काम गर्न नसकेको मेयर सिंहको भनाई छ । वीरगञ्ज महानगरपालिका भोजपुरी भाषा र संस्कृतिको संरक्षण एवम् संवद्र्धनका लागि सँधै तत्पर रहेको बताउँदै उनले साहित्यको जगेर्ना गर्नुपर्नेमा जोड दिए । 

पुस्तक बिमोचन कार्यक्रमलाई साहित्यकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, भोजपुरी प्रतिष्ठान वीरगञ्जका अध्यक्ष उमाशंकर द्विवेदी, प्राध्यापक डा. दीपक शाक्य, डा. बिशम्बर शर्मा लगायतले सम्बोधन गर्दै भोजपुरी भाषा र साहित्यको प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए । 

गोर्खा पत्रका भोजपुरी भाषा संयोजकसमेत रहेका पुस्तकका लेखक दिनेश गुप्ताले भोजपुरी भाषामार्फत समाजलाई सचेत बनाउने र भाषाको संरक्षण गर्ने प्रयत्न गरेको प्रतिक्रिया यात्रा डेलीलाई दिए । 

कार्यक्रमको सहजीरण नेपाल भोजपुरी समाजकी सदस्य सलमा खातुनले गरेकी थिइन् । 
 

Back to top