×

वीरगञ्ज, २१ साउन ।  गाई कास्तो जनावर हो ? गाइले  हामीलाई के दिन्छ ?  गाईको बच्चालाई के भनिन्छ ? यस्ता  प्रश्नहरुको जवाफ यस लेखमा समावेश गर्न मैले चाहिन किनकि नेपालका हरेक प्रकाशनबाट प्रकाशित पुस्तकहरुमा राखिएको गाईको निबन्धमा गाईको सिङ कति, खुट्टा कति, आखा कति, कस्ता रङको देखि कतिवटा पुच्छरसम्सको चर्चा हुन्छ । तर, गोमांस/गाईको मासुको बारेमा चर्चा कहिल्यै हुन्न । आखिर किन ?  यही प्रश्न नै यो लेखको मुख्य विषय बनाउने मेरो चाहा हो । 

गोमांसबारे किन बहस भएन ?
गोमांसको बारेमा लेख्ने आँट कसैले गर्न सक्दैन, पाठ्यपुस्कमा लेख्ने त कुरै नगरौँ । किनभने नेपालमा गोहत्या कानुनी रुपमा  निषेध छ । अँझ गोहत्या गर्ने र गोमांसाहार गर्नेलाई “पातकी” भनिन्छ भन्ने कुरा “कइरन” मासिक वर्ष १ अंक ३(१९९१) मा प्रकाशित गणेश क्षेत्रीको लेखमा भेटिन्छ ।उनी  भन्छन्, “पछिल्ला सुत्र साहित्य र पुराणहरु भन्दा अघि लेखिएका हिन्दु साहित्यहरुको अध्ययनमा त्यसताकाको हिन्दु समाजमा गोहत्य र गोमांसाहारको व्यापक प्रचलन भएको कुरा प्रमाणित हुन आउँछ ।

यजुर्वेदमा गाईको बोसोले पितृहरु तृप्त हुने र यसको परिणामस्वरुप कर्ताको सबै मनोरथ पुर्ण हुन सक्ने भन्ने विवरण पाइन्छ भनेर सोहि लेखमा उल्लेख गरिएको छ । तर पछिल्ला सुत्र साहित्य र पुराणहरुको प्रभावले उबेलादेखि हालसम्म नेपालको हिन्दुहरु “गाई हाम्रो माता हुन् । गाई लक्ष्मी हुन् । गाईगोरु काट्नु भनेको हिन्दु धर्मलाई अपमान गर्नु हो” भन्ने तर्क दिन्छन् ।

नेपालको इतिहासलाई फर्केर हेर्दा लामो सामयबाट हिन्दुहरु राज्यसत्तामा बसेर शासन गर्दै आएकाले उनीहरु हिन्दुराज्य स्थापना गर्नको लागि कानुनी व्यवस्था द्वारा गोहत्यामा सजाएको वन्दोबस्त गरिएको देखिन्छ ।

अर्जुन पाख्रिनले आफ्नो लेखमा विशाल भारतको संविधान मस्यौदाकर्ता बिद्वान डा. अम्बेडकरले एक  पुस्तकमा ब्राह्मणहरुले गाईको मासु किन छाडे भन्ने विषयमा लेखेका कुरालाई यसरी राख्नु भएको छ, “धर्मको सम्बन्धमा ऋग्वेदकै अनुसार ऋग्वेद कालमा भोजनका लागि खुलेआम गोहत्या गर्दथे र गोमांस खान्थे । ब्राह्मण प्रत्येक दिन गोमांसाहार गर्थे । अन्य जातिहरुको तुलनामा ब्राहमण अलि बढी नै गाईको मासु खान्थे । धर्म र यज्ञको नाममा निरपराध पशुहरुको हत्या गर्ने योजना बनाउनु बाहेक ब्राह्मणहरुको अर्को काम नै हुदैनथ्यो ।

गोहत्या र गोमांसाहार गर्ने चलन चरम सीमामा पुगेको बेलामा अचानक सारा भारतमा पशुबली र गोहत्याको विरुद्धमा बुद्ध धर्मको धुमधाम प्रचार भयो । बुद्ध धर्मबाट मानिसहरु ज्यादै प्रभावित भए । फलस्वरुप मानिसहरुले ब्राह्मणहरुलाई हत्यारा र कसाहीको रुपमा घृणाले हेर्न थाले यसो भएपछि आफ्नो मेटिन लागेको अस्तित्व पुनःबचाउन ब्राह्मणहरुले आफ्नो धर्मको प्रचार गर्न थाले र अहिंसाको प्रचार गर्न थाले । गोपुजा बुद्ध धर्म र ब्राह्मणधर्मको संघर्षको परिणाम हो ।”

यसरी विभिन्न धर्मग्रन्थ, इतिहासकार, विद्धवानहरुको लेख अध्ययन गर्दा गाईवध गर्न हिन्दु ब्राह्मणहरुले प्रतिबन्ध लगाएको देखिन्छ । “नेपालमा अधिकांश जनजाति समुदाय र दलित समुदायमा गाईको मासु खाने चलन छ । उनिहरुका सांस्कृतिक प्रचलनमा पनि गोमांस जोडिएको छ” भनेर अनलाइन पत्रिका शिलापत्रमा रोहेज खतिवडाले लेखेका छन् ।

मुस्लिम समुदायमा पनि गोमांस सांस्कृतिक रुपमा रहेको औरन्जेब अहमदले आफ्नो थेसिसमा लेखेका छन् । ब्राह्मणहरुको धार्मिक अस्तित्व बचाउन अधिकांश जनजाति, दलित र मुस्लिम समुदायले आफ्नो संस्कृति त्याग्नु परेको देखिन्छ ।

मल्लकालको अन्तिमतिरबाट शाहा वंशको कालखण्ड हुँदै जङ्गबहादुरको मुलुकी ऐन १९१० देखि हाल प्रचलित कानुन मुलुकी अपराध संहितासम्म गोवध निषेध छ । सशस्त्र युद्धपछि २०६२–६३ जनआन्दोलनले मुलुकमा धर्मनिरपेक्ष स्थापना गर्दासमेत गोवध अवैद्य नै छ । नेपालको संविधान, धारा ४ को स्पष्टीकरणमा “धर्मनिरपेक्ष” भन्नाले सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर उल्लेख गर्दा गर्दै पनि गाईलाई राष्ट्रिय जनावर निरन्तता दिएर अधिकांश जनजातिहरुको संस्कृतिसँग जोडिएको गोवधलाई भने कानुनले पुनःस्थापना हुन दिएन । यस कारण गोमांसको चर्चा कहिले भएन/हुन दिइएन ।

यसकारण गौहत्या/गौमास वैध गरौ
गाईको दुध, गोबर, गहुँतको धेरै औषधिय गुणहरु हुन्छन् र यसको बारेमा धेरै चर्चा भएको पनि छ । तर गाईको मासुमा पाइने महत्वपुर्ण तत्वहरुको बारेमा नेपालमा कहिँ कतै चर्चा गरिदैन ।
गोहत्या निषेध गरिएको राष्ट्रमा मैले गाईको मासुको बारेमा चर्चा गर्नु ठिक हो या होइन यो तपाईले भन्नुहुनेछ । तर म भन्छु, गाईको पुर्ण रुपमा वर्णन गर्न गाईको मासुको नि चर्चा हुनुपर्दछ । धर्म ग्रन्थ आपस्तम्ब धर्मसुत्रमा पनि गाई गोरु पवित्र भएको हुँदा यसको मासु खानुपर्छ भनेर लेखिएको विभिन्न लेखहरुमा चर्चा गरिएको छ ।

इट एण्ड फिट युट्यूव च्यानलमा राखिएको भिडियोमा गाईको मासुबाट पाउने पौष्टिक गुणहरुको बारेमा यसरी वर्णन गरिएको छ ः गाईको मासु भिटामिन बि १२ र बि ६ को स्रोत हो । यसले शारिरमा खुन उत्पादन गर्न सहयोग पु¥याउँछ । यसले मस्तिष्क र स्नायु प्रणालीको कार्यमा मद्दत गर्दछ । गाईको मासुमा धेरै मात्रामा जिंक हुन्छ जुन शरिरको वृद्धि र बिकासका लागि महत्वपुर्ण हुन्छ । गाईको मासुमा सेलेनियम, फलाम, नियासिन जस्ता तत्वहरु पाइन्छ ।

गाईको मासुमा क्रिएटिन, टोरिन, कोलेस्ट्रोल, लिनोलिक एसिड जस्ता जैव सक्रिय पदार्थहरु पाइन्छ । गाईको मासु उच्च गुणस्तरको प्रोटिन, भिटामिन, मिनिरलस्को स्रोत हो । यसकारण, वैज्ञानिक रुपमा पनि गोमांस वैध गर्नु जरूरी देखिन्छ ।

निष्कर्ष
नेपालको जनजाति, दलित र मुस्लिम समुदायमा गोमांस संस्कृतिक अभिन्न हिस्सा रहेको थियो । यो धार्मिक र सांस्कृतिक मात्रै नभई यसमा स्वास्थ्य आहारको लागी उत्कृष्ट तत्व पाइन्छ भन्ने अध्ययनमा देखिन्छ । त्यसकारण, गोमांसलाई वैध गर्नुपर्छ भन्ने मेरो बुझाई हो ।

Back to top