×

वीरगञ्ज, १९ साउन । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरु आन्दोलित छन् । नविकरण नगरेको र करार सम्झौताको अवधि नथपेको भन्दै करारका कर्मचारीहरु आन्दोलित भएका हुन् । पिडित करार कर्मचारी संघर्ष समिति गठन गरेर उनीहरुले आफुहरुको सम्झौता अवधि थप्नुपर्ने र हाजिरी गर्न दिनुपर्ने माग राखेका छन् । 

संघर्ष समितिका संयोजक अभ्यास राउत कम्करले राजनीतिक प्रतिशोध साध्न र आफ्ना आफन्तलाई नियुक्त दिन दबाब दिइएको आरोप लगाए । उनले भने, “हामीलाइ पटकपटक दबाब दिइयो, काम गर्ने वातावरण भएन । हामीमाथि अन्याय गरियो ।” 

१८ जना करारका कर्मचारीहरुले गाउँपालिका अध्यक्ष जसवन्त यादव र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफलाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै करारका कर्मचारीलाई काम गर्न नदिने वातावरणको सृजना गरी राजीनामा दिन दबाद दिइएको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

आ–आफ्नो काम जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्दा पनि ३१ असार २०७९ मा गाउँपालिकाले फेसबुक पेजमा सूचना प्रकाशीत गरेर कराकरका कर्मचारीलाई साउन १ गतेभित्र कार्य सम्पादन मूल्यांकन फाराम भरेर बुझाउन निर्देशन दिनुले करारका कर्मचारी हटाउन खोजेको स्पष्ट भएको उनको भनाइ छ । हतारहतारमा कर्मचारीले फारम भरेर बुझाएपछि पनि करार नविकरणपछि हाजिरी गराउने भन्दै हाजिरीसमेत गर्न नदिएको संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

१८ जना करारका कर्मचारीद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमार्फत करार सम्झौताको म्याद थप नगर्ने अन्यायपूर्ण कार्य बन्द गरी करार सम्झौता नविकरण गर्न माग गरिएको छ । सोही पदका लागि आह्वान गरिएको नयाँ विज्ञापन रद्द गर्नुपर्ने मागसमेत समेत उनीहरुले राखेका छन् । 

गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने गाउँपालिकाको आर्थिक भार कम गर्न खोज्दा विरोध गरेको बताए । यात्रा डेलीसँगको कुराकानीमा अध्यक्ष यादवले भने, “स्थानीय तहको चुनाव हुनुभन्दा ३ महिना अघिसम्म १२ जना कार्यालय सहयोगी थिए । जबकी गाउँ कार्यपालिकाको कार्यालयमा त्यति धेरै कार्यालय सहयोगी आवश्यक नै छैनन् । त्यस्तै ५ जना सामाजिक परिचालक कुनै काम नहुँदा पनि नियुक्त दिइएको छ । यसले गाउँपालिकालाई आर्थिक रुपमा भार परीरहेको छ ।” 

सबै करारका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकनका आधारमा ८० प्रतिशतभन्दा बढी भएकालाई राखिएको र अरुलाई ३० गतेसम्म दैनिक ज्यालादारीमा राखिएको अध्यक्ष यादवको भनाई छ । उनले भने, “यदि राजनीतिक प्रतिशोध नै राख्ने हो भने हाम्रै पार्टीका कार्यकर्ताहरु हुनुहुन्छ, कति धेरै जनाले नियुक्ती दिनुहोस् भनिरहनुभएको छ ।” 

नयाँ विज्ञापन आह्वान गरिएको र त्यसको परीक्षा लिएर सक्षम व्यक्तिहरुलाई छनौट गरेर नियुक्त गर्ने तयारी गाउँपालिकाले गरीरहेको अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार कार्यालय सहयोगीमा २ जना, बी वर्गको सवारी चालक ४ जना, जि वर्गको सवारी चालक १ जना, आई टु वर्गको सवारी चालक १ जना, जे वान वर्गको सवारी चालक १ जना, पाँचौ तहको हेल्थ असिस्टेन्ट ३ जना, चौथो तहको ल्याब असिस्टेन्ट २ जना, चौथो तहकै अहेब ४ जना, चौथो तहको अनमी ६ जना, पाँचौ तहका मनोसामाजिक परामर्शकर्ता १ जना र चौथो तहको ना.प्र.स. २ जनाका लागि विज्ञापन आह्वान गरिएको छ । 
 

Back to top