×

वीरगञ्ज, १९ साउन । बलिउड अभिनेता हर्षवर्धन राणे अभिनित चलचित्र ‘सनम तेरी कसम’ युट्युबको दोस्रो ट्रेन्डिंगबाट तेस्रोमा झरेको छ । 

साथीको रिसेप्सन पार्टीमा सहभागी हुन उनी बिहीवार काठमाडौं आएसँगै उनी अभिनित चलचित्र ट्रेण्डिंगमा जाने क्रम शुरु भएको हो । शनिवार पार्टीमा सहभागी हुने क्रममा हर्षवर्धनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य गरेका थिए भने आइतवार उनले बसन्तपुर क्षेत्रको अवलोकन गरे । 

सोमवार लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टले उनीसँग भेटघाट कार्यक्रम राखेको थियो । उनले आफू उक्त रेस्टुरेन्टमा साढे ५ बजे जान लागेको इन्स्टामार्फत जानकारी गराएपछि ठूलो संख्यामा युवतीहरु जम्मा भएका थिए ।

हर्षले इन्स्टामा पोस्ट गरेको एक भिडियोमा उनलाई युवतीहरुले घेरेका छन् । उनीसँग अटोग्राफ लिन र फोटो खिच्न युवतीहरुबीच तछाडमछाड नै चलेको भिडियोमा स्पष्ट देखिन्छ । उनलाई देखेपछि केही युवतीहरुले आँशु थाम्न पनि सकेका छैनन् ।

भिडियोमा एक युवती हर्षलाई अंकमाल गर्दा थरथरी कापेको देख्न सकिन्छ । उनले पनि आफ्ना नेपाली फ्यानहरुसँग सेल्फी खिच्दै अघाध प्रेम दर्शाए ।

हर्षवर्धनले नेपालमा आफूलाई मिलेको प्रेमप्रति कृतज्ञता व्यक्त गरेका छन् । सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी सम्भवतः पहिलो पटक नेपाल आएका हुन् ।
 

Back to top