×

वीरगञ्ज, १९ साउन ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा ५ किलोमिटर सडकको शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्र्तगत उक्त सडकको शिलान्यास गरिएको हो । 

पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सडकको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मुख्यमन्त्री राउतले यस आर्थिक वर्षमा कुनै पनि योजना रकम अभावका कारण अधुरा नहुने दावी गरे ।

नगवाका कुनै पनि गल्ली बाँकी नरहने बताउँदै सबै गल्लीहरुमा रकम बिनियोजन गरेर निर्माण गरिने बताए । साथै उनले युवाहरु आफ्नो प्राथमिकतामा राख्ने बताउँदै मुख्यमन्त्री राउतले नगवा युवा क्लबका लागि भवन निर्माणमा ५० लाख बिनियोजन गरेको बताए । साथै मन्दिर, विद्यालयसहित कुनै योजना छुटेको भए जानकारी गराउन आग्रह गर्दै सबै निर्माण गर्ने जिम्मा आफुले लिने पनि उनले बताए । 

वीरगञ्जको लक्ष्मणवा, भिस्वा, नगवा, ईनर्वा क्षेत्रलाई जोड्ने ४ किलोमिटर ५ सय मिटर लम्बाईको सडक निर्माण हुन थालेको हो । ९ असार २०७९ मा सिवाको कन्स्ट्रक्शन प्रा.ली. काठमाण्डौसँग ८ पुष २०८० भित्र सम्पन्न हुने गरी ६ करोड ५३ लाख ६८ हजार ५ सय ३० रुपैयाँमा सम्झौता भएको छ । 

मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण हुने सडकको शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिती पर्साका निवर्तमान सभापति नेकमहमद अन्सारी, वडा अध्यक्ष पशुराम चौरसिया लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top