×

वीरगञ्ज, १३ साउन ।  वीरगञ्ज महानगरपालिकाले सेवाग्राहीलाई मध्यनजर गर्दै एसी जडान गरेको छ । महानगरपालिकाको मुख्य भवनको चारैतर्फ सिसाका ढोका लगाई सेवाग्राहीको सहजताका लागि एसी जडान गरिएको हो ।

जडान गरिएको एसीका कारण सेवा लिन आउने सेवाग्राहीलाई सहज हुने महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बिश्वास लिएका छन् । ‘उनीहरुले नै जिताएर पठाएका हामी चाहिँ बातानुकुलित (एसी) कोठामा बस्ने अनि उनीहरु सेवा लिन आउँदा चाहि भिडभाडमा उकुसमुकुस भएर कष्ट सहँदै बसेको हेर्न सकिएन,’ मेयर सिंह भन्छन्, ‘त्यही भएर सेवा लिन आउने नगरवासी सेवाग्राहीलाई सहज होस भनेर हामीले यो व्यवस्था मिलाएका हौँ ।’

महानगरबाट मात्रै हुने कामका लागि आउने सेवाग्राहीलाई पनि कार्यालयमा पहिले जस्तो उकुस मुकुस हुने गरी भिडमा उभिनु नपर्ने बनाइएको छ । सकेसम्म छिटो छरितो सेवा दिने र समय लाग्ने भए पर्खेर बस्नका लागि वातानुकुलित लवीहरु पनि निर्माण गरिएको छ ।

गर्मीको समयमा सेवा लिन जाँदा पसिना गन्हाउँदै उभिनु पर्ने समस्या अन्त्यका लागि महानगरले मुख्य भवनको सेवाप्रवाह हुने स्थान राजश्व, प्रशासनका लवीहरु वातानुकुलित बनाउँदै सेवाग्राही बस्न कुर्सिको व्यवस्था समेत मिलाएको छ ।

‘सकेसम्म भिड हुनै नदिने गरी छिटो छरितो काम गरिदिन कर्मचारिहरु लागि परेका छन्,’ मेयर सिंहले  भने, ‘केही गरी समय लाग्ने भए पनि सेवाग्राहीलाई बस्नका लागि असुविधा नहोस् भनेर भिड नहुने गरी आवश्यक बस्ने ठाउँको लवीमै व्यवस्था मिलाएका छौँ ।’नगरवासीले समस्या भोग्न नपरोस भनेर महानगरले सेवाग्राहीमैत्री सेवाप्रवाहमा जोड दिएको मेयर सिंह बताउँछन् । 

महानगरले हालै मात्रै एकिकृत सम्पत्ती कर, राजश्व, घटना दर्ता दस्तुर र अन्य सिफारीस दस्तुरको शुल्क ३२ वटै वडाबाट डिजिटल रुपमा काट्न सक्ने व्यवस्था मिलाईसकेको छ ।

विगतमा सय/दुई सयको राजश्व तिर्न त्यो भन्दा बढि पैसा र समय खर्चेर सेवाग्राहीहरु महानगरपालिकाको कार्यालयमै आउनु पर्ने बाध्यता थियो ।अहिले यी सबै काम आफ्नै वडाबाट भएपछि सेवाग्राहीहरुलाई महानगर धाइरहनु पर्ने बाध्यता हटेको छ ।

सपथ लिएकै दिन वर्षौँदेखि जीर्ण रहेको घण्टाघर क्षेत्रको सडक मर्मत गरेर आफ्नो कार्यकाल सुरुवात गरेका सिंहले नगरवासीको हितलाई ध्यानमा राख्दै आफ्नो काम अघि बढाइरहेका छन् ।
 

Back to top