×

वीरगञ्ज, ४ साउन ।  जलवायु परिवर्तन र बढ्दो शहरीकरणका कारण विगतका तुलनामा गर्मी बढ्दै गएको छ । विशेषगरी तराई र शहरी क्षेत्रमा गर्मीकै कारण जीवनशैली नै प्रभावित हुने गर्छ । पानी पर्ने महिनाको रुपमा मानिने असारमा पनि वीरगञ्जसहित तराईका क्षेत्रमा पानी नै नपर्दा कृषकहरु प्नि चिन्तित छन् । गर्मीमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिने जोखीम बढी हुन्छ । 

सामान्यतया मानव शरीरले ९७ देखि ९९.७ डिग्री सेल्सियससम्मको तापक्रम पचाउन सक्छ । तर, अत्यधिक गर्मीमा शरीरको तापक्रम बढेर १०१ देखि माथि पुग्न सक्छ, जसलाई मेडिकल भाषामा हाइपरथर्मिया भनिन्छ । हाइपर थर्मिया शरीरले तापक्रमलाई नियन्त्रण गर्न नसकेका कारण हुने गर्छ । जसले गर्दा टाउको दुख्ने, बेहोस हुने, हात–खुट्टा काँप्नेजस्ता समस्या आउन सक्छन् । चर्को घाममा हिँड्दा, रिंगटा लाग्ने तथा अनुहार रातो हुने जस्ता लक्ष्णहरु देखिन सक्छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । 

पानी कति पिउने भन्ने धेरैलाई थाहा हुँदैन । यदि, पिसाब पहेँलो वा गाढा आउँछ भने शरीरमा पानी अपुग भइरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैले, गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ ।
अत्यधिक पसिनाका कारण कतिपय अवस्थामा शरीरमा सोडियम, पोटासियम र साल्टको मात्रा कम हुने गर्छ । यस्तो अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । तसर्थ, फलफूलको रस पनि खाएमा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

सकेसम्म चर्को घाममा बाहिर निस्कनुहुँदैन । बाहिर निस्कनुपरेमा छाताको प्रयोग गर्नुपर्छ । सकभर, कालो रङको छाता ओड्नु उपयुक्त हुन्छ । जसले गर्दा सीधा घामको किरण शरीरमा पर्न पाउँदैन । तर, कपडा भने सकेसम्म कालो लगाउनुहुँदैन । सुतीको अनि सेतो रंगको लगाउँदा राम्रो हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, ज्वरो, झाडापखाला, मेनेन्जाइटिसजस्ता समस्या भएका मानिसलाई गर्मीले बढी असर गर्छ । उनीहरूमा चाँडो डिहाइड्रेसनको समस्या हुन सक्छ । यसर्थ, सचेत हुनुपर्छ । 
हिँड्दा गाह्रो भएमा सकभर चाँडो शीतल ठाउँमा गएर बस्नुपर्छ । त्यस्तै, घर वा कार्यालयमा बस्दा पनि पंखा, कुलर वा एसी प्रयोग गर्न सकिन्छ ।

गर्मीसँगै अस्पतालमा बिरामीको चाप पनि थपिएको छ । अस्पतालहरूको तथ्यांक हेर्ने हो भने जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने बिरामीको संख्या करिब दुई गुना हुने गर्छ ।

गर्मीका कारण शरिरमा देखिन सक्ने लक्ष्ण
चर्को गर्मीका कारण गर्मीयाममा शरीर सुक्खा हुने, टाउको दुःख्ने, वाकवाकी लाग्ने, खाना रुचि नहुने, कमजोर महसुस हुने, थकाइ लाग्ने, अचानक रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा बाउँडिने, जलवियोजन (डिहाइडे«सन), आँखा पोल्ने, आँखा पाक्ने, झाडापखाला, टाइफाइड तथा जन्डिसजस्ता रोग देखा पर्न सक्छन् ।

अपनाउनुपर्ने सावधानी
यस्ता रोगबाट बच्न सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्छ । गर्मीयाममा बिहान सूर्योदय अगाडि नै उठ्नुपर्छ । बिहानको शीतल मिर्मिरेमा उठ्नाले मनमा अर्कै आनन्दको अनुभूति हुन्छ । बिहान उठेर एकदुई गिलास पानी पिएर शौचालय जानु पर्छ ।

दिसापिसाब गरेपछि स्नान गर्नु राम्रो हुन्छ । पानी पिउनाले र नुहाउनाले शरीरमा बढेको तापक्रम कम हुनुका साथै शरीर शुद्धि हुन्छ । बिहान दुई÷तीन किलोमिटर हिँड्नु राम्रो हुन्छ । गर्मीयाममा राति अबेरसम्म बस्नु राम्रो हुँदैन । छिटै सुत्ने र बिहान छिटै उठ्ने बानी बसाल्नुपर्छ । राति अबेरसम्म बस्नै परे पटक पटक पानी पिउनुपर्छ । सुत्नुपहिला हातखुट्टा धोइ पखाली गरेर एक गिलास पानी पिएर सुत्नुपर्छ ।

खानपिनमा ध्यान दिनुपर्ने कुरा
गर्मी मौसममा अमिलो, पिरो, मसालेदार भोजन, दुर्गन्धयुक्त बिग्रेको पदार्थ, पुनः ताजा बनाएको खाना, बासी भोजन, ज्यादै चिसो वा तातो प्रकृतिका खाने कुरा अनि माछामासुको सेवन गर्नु हुँदैन । गुलियो मौसमी, गुलियो आँप, सुन्तला, पाकेको केरा, अंगुर, तर्बुजा, खर्बुजा, काँक्रो आदि जस्ता फलफूल तथा लौका, फर्सी, घिरौंला, हरियो मटर, बेथे, परबल, करेला, काँचो केरा तथा पाकेको गोलभँेडाआदि जस्ता तरकारीहरू सेवन गर्नुपर्छ ।

गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहने हुनाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । स्वास्थ्यमा पानीको ठूलो महत्वव छ । जौ वा गहुँको सातुको सर्बत, बेल तथा चिसो मीठो लस्सी आदि पिउनुपर्छ । खानामा भात, जौ वा गहँुको रोटी, मुगी वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चट्नी, काँक्रो आदिको सलाद खाना राम्रो हुन्छ । पानी बोत्तलबाट घटघट होइन, गिलासबाट चुस्की लिएर पिउनुपर्छ । 

पानी बारे प्रसिद्ध भनाई 
हेनरी डिबिट थारोले भनेका छन्, ‘जल बुद्धिमान मानिसको एकमात्र पेय हो ।’ पानीको यो महत्वलाई बुझेर नै भारतकी प्रसिद्ध अभिनेत्री ऐश्वर्या रायले भनेकी छिन्, ‘पानीले शरीरलाई ज्यादै फाइदा गर्दछ, शक्ति, ऊर्जा र ताजगी दिन्छ । मैले दिनहुँ कम्तीमा पनि आठ गिलास पानी पिउँछु ।’

पानीको सन्दर्भमा भारतकी अर्की प्रसिद्ध अभिनेत्री करिना कपुरले भनेकी छन्, ‘चेहराको चमकलाई ठीक राख्न र तनमनलाई स्वस्थ र फुर्तिलो बनाउन मैले खुब पानी पिउँछु । मैले दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउँछु । पानीले रातदिन कार्य गर्दा थाकेको शरीर र मनलाई ताजा बनाउँछ, कार्य गर्ने ऊर्जा दिन्छ । स्वास्थ्य र सौन्दर्यलाई ठीक राख्न प्रशस्त पानी पिउन जरुरी छ ।’

यी सानातिना कुराहरूमा ध्यान दिने हो भने प्रचण्ड गर्मीबाट राहतमात्र मिल्दैन कि थुप्रै किसिमका रोगहरूबाट बच्न सकिन्छ । गर्मीयाममा पनि आफ्नो स्वास्थ्यलाई सुदृढ राख्न सकिन्छ ।
 

नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. सरोजरोशन दाससँग गरिएको कुराकानीका आधारमा 

Back to top