पहिचान
साँच्चै,
युग परिवर्तन
कि युगान्तरको परिवर्तन,
मन परिवर्तन वा
मस्तिष्कको परिवर्तन,
अथवा
यो भनौँ ,
बोली परिवर्तन वा
वास्तमै हामीले
गर्ने व्यवहारको परिवर्तन,
अब पहिचान हुनुपर्छ ।
एक पटक सोचौँ,
म भएर,
मेरो लाज ढाक्ने
वस्त्र सिलाउँछन् काकाले
म ओत लागेको
छानो छाउँछन् साल्दाइले
शिखरको पाइलामा
चुम्ने मेरा यी नाङ्गा पैताला
घाउ नलागी पु-याउने
जुत्ता बनाउँछन् धने दाइले
बाँच्नैका लागि
उब्जित जमिन
नङ्य्राउने,
औजार, कुटो, कोदालो
बनाउँछन् माइला दाइले ।
यति मात्रै कहाँ हो र ?
आगोको भुङ्रामा ड्याम–ड्याम
बजार्दै तातो फलामलाई
आफूले चाहेको
आकारमा परिणत गर्छन्,
तल्ला घरे हर्के दाइले ।
सत्कार र सम्मानका निमित्त
आगन्तुकको स्वागतमा,
गुन्द्री, राडी, गलैँचा
बुन्छिन् ठूल्दिदीले ।
मेरो बुवाको शिरको टोपी
बडो प्यारसँग
बुनेकी हुन् हजुरमाले ।
यति मात्रै होइन
हामीले प्रत्येक दिन उठेर
नुहाइधुवाई पश्चात्
स्वच्छ अनि चोखो बनेर
मनले पुज्ने,
त्यो देवताको मूर्ति,
कसले बनाए कसले,
न थर थाहा छ, न नाम,
न त उनको जात !
फेरि पनि
कति पवित्र छन् ।
अब सोचौँ त,
के यी सबै सबै, वस्तुहरू
अछुतो हुन् त ?
अब पहिचान हुनुपर्छ,
रुँदै जन्मिएर भुइँदेखि नाङ्गै
उठाएर लपेटिएको थाङ्नोदेखि
मर्दा ओडाउने कात्रोसम्म
अर्कैले दिनुपर्ने हाम्रो समाजमा
जातीयताको कुरा किन ?
सामाग्रीको सम्मान
तर व्याक्तिको अपमान किन?
खोजी हुनुपर्छ ।
बोली र व्यवहारले
रङ्ग भेद छुवाछूत
किन र कसलाई,
साँच्चिकै
अब पहिचान हुनुपर्छ ।
केवल ,
प्रश्न गर्ने अनि
उत्तर दिनेहरूको स्वर
सक्कली हो वा नक्कली
अब पहिचान हुनुपर्छ ।।