×

वीरगञ्ज, १२ अषाढ । वडाका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशूल्क रुपमा शैक्षिक सामाग्री उपलब्ध गराउने वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशिल कुमार कानुले उद्घोष गरेका छन् ।

वडास्थित श्री रामचरण साह पन्नालाल माद्यामिक विद्यालयमा आईतवार आयोजित १३ औँ वार्षिक पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कानुले विद्यार्थीहरुलाई वर्षभरी पुग्ने गरी आवश्यक शैक्षिक सामाग्री वडा दिने घोषणा गरेका हुन् । 

विद्यार्थीहरुलाई आवश्यक पर्ने कपी, कलम, सिसाकलम, झोला लगायतका सामाग्री वडा कार्यालयबाट उपलब्ध गराउने कानुले बताए । 

घोषणा पत्रमा उल्लेख भए बमोजिम वडाका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कुनै कसर बाँकी नराख्ने साहको प्रतिबद्धता छ । विद्यालयका भौतिक पूर्वाधार निर्माणसँगै हरेक बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उनले बताए । 

कपी कलमकै अभावका कारण शिक्षाबाट कोही पनि बालबालिका वञ्चित हुनु नहुने उनको धारणा छ । शैक्षिक सामाग्री वितरण गर्नका लागि ५ लाख रुपैयाँ बिनियोजनसमेत भईसकेको साहले जानकारी दिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक पर्ने प्रत्येक कुरालाई आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

“म पनि यसै विद्यालयबाट पढेर आज यहाँसम्म पुगेको छु । विद्यालय प्रति मेरो माया छ । यसको विकास र शैक्षिक गुणस्तर उकास्न के गर्न सकिन्छ, योजना बनाएर ल्याउनुहोस् । त्यसलाई पूरा गराउने मेरो जिम्मा छ,’ उनले भने ।
वडामा २ वटा मात्र सामुदायिक विद्यालय भएकोले सँगै मिलेर काम गर्न सकिने बताउँदै उनले वार्षिक कार्यक्रमहरु गरेर विद्यार्थीहरुको मनोबल बढाउने र प्रतिभा देखाउने खालको कार्यक्रम र प्रतियोगिताहरु आयोजना गर्न आग्रह पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि वडा र महानगरको समन्वयमा शिक्षामा आमुल सुधार र परिवर्तन गर्नुपर्नेमा जोड दिए । शिक्षाको सवालमा कसैसँग सम्झौता नगर्ने बताउँदै मेयर सिंहले सामुदायिक विद्यालयतर्फ विद्यार्थीलाई आकर्षीत गर्नका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे । उनले वडा अध्यक्ष कानुले घोषणा गरे जस्तै महानगरका अन्य वडाले पनि सामुदायिक विद्यालयमा शैक्षिक सामग्री नि:शूल्क रुपमा उपलब्ध गराउनु पर्ने बताए ।

सो अवसरमा विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गर्नुका साथै नवनिर्वाचित मेयर सिंह र वडाअध्यक्ष कानुसँगै वडा सदस्यहरु सन्तोष जैशी, प्रभु मतो लगायतका जनप्रतिनिधीहरुलाइ पनि विद्यालयले सम्मान गरेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साहको अध्यक्षतामा समपन्न कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक अरविन्दलालले गरेका थिए ।

Back to top