×

वीरगञ्ज, ११ अषाढ । अमेरिकाको सर्वोच्च अदालतले आफ्नो एक महत्वपूर्ण मुद्दाको फैसलामा गर्भपतनलाई कानुनी अनुमति दिने पाँच दशक पुरानो फैसला उल्ट्याएको छ।

यससँगै अब महिलालाई गर्भपतनको अधिकार दिने वा नदिने भन्ने विषयमा सम्बन्धित राज्यले आ–आफ्नो फरक फरक नियम बनाउन सक्नेछन् ।

अदालतको यो फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन हुन सक्ने जानकारको मत छ । यो फैसलासँगै अब अमेरिकाका धेरै राज्यमा गर्भपतनमा रोक लगाउने कानुन आउन सक्ने बीबीसीले जनाएको छ ।

अमेरिकाका १३ राज्यले यसअघि नै गर्भपतनलाई गैरकानुनी घोषणा गरिसकेका छन् । यो कानुन सर्वोच्च अदालतको फैसलापछि लागू हुनेछ । अन्य राज्यहरुले पनि छिटै नै यस किसिमको कानुन ल्याउन सक्ने अनुमान गरिएको छ ।

यद्यपि महिला अधिकारकर्मीले भने गर्भपतनलाई कानुनी अधिकार दिइनुपर्ने बताउँदै आएका छन् ।

सर्वोच्च अदालतले १५ साताभन्दा धेरै समयको भ्रूणको गर्भपतनको मुद्दामा फैसला सुनाउँदै यो अधिकार संविधान प्रदत्त नरहेको र यो निर्णय गर्ने अधिकार आगामी दिनमा जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्ने बताएको हो । सर्वोच्च अदालतको आदेशको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए ।

सर्वोच्च अदालतले सुनाएको यो फैसला अदालतको पुरानो फैसलाको विपरीत हो । यसले अमेरिकाका फरक फरक राज्यमा राजनीतिक संघर्ष अर्को तहमा पुग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।

सर्वोच्चको आदेशसँगै अमेरिकाका केही राज्यमा गर्भपतन सेवा दिँदै आएका क्लिनिकहरू बन्द हुन थालेका छन् । बीबीसीका अनुसार अर्कान्सनको लिटिल रकमा रहेका क्लिनिकहरू बन्द भएका छन् । क्लिनिकले यसअघि नै अपोइन्टमेन्ट लिएका महिलाहरूलाई पनि नआउन भनिसकेको छ । केही राज्यमा सर्वोच्चको फैसलाको पक्षमा प्रदर्शन भइरहेको छ ।

 सर्वोच्च अदालतको आदेशपछि संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अमेरिकाका लागि दुःखद दिन भएको बताएका छन् ।

Back to top