×

भौतिक पूर्वाधारबिना स्तरीय सेवा त्यो पनि अस्पतालमा दिनु अकल्पनीय हुन्छ । देशका अधिकांश ठाउँमा अस्पतालका भवन स्तरोन्नती भइसकेको अवस्था छ । सरकारले त्यसका लागि वर्षेनी बजेट पनि छुट्याउने गर्छ । तर, वीरगन्जस्थित नारायणी अस्पताल अवस्था भने अलि फरक र भिन्दै छ । सरकारको केन्द्रीय अस्पताल भएपनि भौतिक पूर्वाधार अझै अपुग छ । अधिकांश भवनहरु जीर्ण अवस्थामा छन् । त्यही कारण धेरै भवनहरु प्रयोगबिहिन अवस्थामा छन् ।

नेपालको संविधानमा नै जनताको मौलिक अधिकारका रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई सुनिश्चित गरिएको छ । जसले नागरिक स्वास्थ्यको संवेदनशीलतालाई दर्शाउँछ । मौलिक अधिकारकै रुपमा रहेको स्वास्थ्यको हक पूरा गर्नका लागि पर्याप्त लगानी आवश्यक पर्छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधारको महत्व बेग्लै हुन्छ । यो अवस्थामा विशिष्टकृत सेवा प्रदान गर्ने केन्द्रीय अस्पतालको भूमिका अझ बढी हुन जान्छ । त्यो भूमिका पूरा गर्नका लागि अस्पतालको जनशक्ति, भौतिक पूर्वाधार र उपकरणमा राज्यको विशेष ध्यान जानुपर्छ ।

तर, मधेश प्रदेशका प्रमुख अस्पतालका रुपमा रहेको नारायणी अस्पताल भौतिक पूर्वाधारबिना कसरी गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सक्ला भनेर सोच्न मात्र सकिन्छ । विगत केही महिनायता भौतिक पूर्वाधारमा केही प्रगति भने देखिएको छ । जसको उदाहरणका रुपमा क्याथल्याब भवन र आकस्मिक विभागको भवनको निर्माण भइरहेको छ । क्याथल्याबले मुटु सम्बन्धि मल्टीस्पेसियालिटी सेवा वीरगन्जमै उपलब्ध गराउन भौतिक पूर्वाधारको आवश्यकता पूर्ति गर्नेछ । आकस्मिक विभागको आधुनिक भवन बनेसँगै यो सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिनेछ ।

तीन वर्षदेखि अदालतमा विचाराधीन मुद्दा सुनुवाई नहुँदा स्वास्थ्यजस्तो संवेदनशील र जनतासँग प्रत्यक्ष जोडिएको अस्पतालको भवन निर्माणको कार्य मृगतृष्णा बन्न पुगेको छ । अर्कोतर्फ सो निर्माण कार्य जति ढिलो हुन्छ, त्यति नै निर्माण लागत बढ्दै जाने भएको राज्यमाथि आर्थिक भार पनि दिनदिनै थपिदैं जाने देखिन्छ । राज्यले गर्ने लगानी पनि आम नागरिकको मेहनतको कमाइ नै हो । अस्पतालका पदाधिकारी र केही राजनीतिज्ञहरु भवन निर्माणको प्रक्रिया अगाडि बढाउने प्रयास नगरेका होइन् । तर, त्यो अदालतमा विचाराधीन मुद्धा भएकाले प्रभावकारी हुन सकेन् ।

यस विषयमा आम वीरगन्जेलीहरु जागरुक हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । सबै वर्ग विशेषगरी गरिब, विपन्न, असहायहरुको उपचारको थलो रहेको नारायणी अस्पताल स्तरोन्नती हुनु भनेको आम नागरिकको स्वास्थ्य उपचारको स्थानीय तहमै गर्ने चाहना पूरा हुनु हो । समस्त चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरु, सबै दलका अगुवाहरु, नागरिक समाज, संचारकर्मी र आम नागरिकले योे विषयलाई गम्भीर रुपमा उजागर गर्नुपर्ने अहिलेको सबैभन्दा ठूलो आवश्यकता बन्न पुगेको छ । हुन त कागजमा केन्द्रीय अस्पताल बनाइएको नारायणी अस्पतालको भौतिक पूर्वाधारमा रहेको समस्याबारे स्वास्थ्य मन्त्रालयद्वारा विशेष चासो लिनुपर्ने थियो । तर, अहिलेसम्म सम्बन्धित निकायबाट खासै महत्व न दिएको आभाष हुन पुगेको छ ।

अहिलेको अवस्थामा नारायणी अस्पताल निर्माण दबाब समूह गठन गरी वृहत दबाब सिर्जना गर्नुपर्ने समय आइसकेको देखिन्छ । किनभने, त्यो बाहेक अर्को विकल्प छैन । सम्मानित अदालतद्वारा यस्ता अति संवेदनशील र अति आवश्यक मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । किनभने, अस्पताल र स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष जोडिएका विषयवस्तु हुन् । हेल्थ आवाजवाट साभार

 (डा. सिंह नारायणी अस्पतालका प्रवक्ता एवं नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव हुन् ।)
 

Back to top