×

वीरगञ्ज, १० अषाढ । निर्देशक एसएस राजामौलीको भारतीय फिल्म आरआरआर अहिले बलिउड मात्र नभएर हलिउडमा समेत चर्चाको विषय बनेको छ । 

जुनियर एनटीआर र राम चरण अभिनीत उक्त चलचित्रलाई हलिउडका सेलिब्रेटीले मन मात्र पराएका छैनन् खुलेर प्रशंसा पनि गरिरहेका छन् । 

नेटफ्लिक्समा स्ट्रिम भइरहेको एक्शन ड्रामा आरआरआर ओटीटी प्लेटफर्ममा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बन्न पुगेको छ । सिनेमा घर रिजिल पश्चात विश्वव्यापी रूपमा ११ सय करोड रुपैयाँ भन्दाबढीको व्यापार गर्न सफल भएको फिल्म केहि दिन अगाडि मात्रै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।

नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटर ह्यान्डलका अनुसार आरआरआर अब नेटफ्लिक्समा हेरिएको सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ । फिल्मलाई विश्वभर ४५ मिलियन घण्टाभन्दा बढी हेरिएको नेटफ्लिक्सको दावी छ  । ‘आरआरआर अहिले विश्वभर नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ,’ नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटरमा लेखेको छ ।"

जुनियर एनटीआर र राम चरणको आरआरआर २०२२ को सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक थियो । यो चलचित्र मार्च २५ मा धेरै भाषाहरूमा रिलिज भएको थियो ।

आरआरआर एसएस राजामौलीद्वारा निर्देशित र विजयेन्द्र प्रसाद द्वरा लिखित एक एक्शन ड्रामा हो । फिल्ममा राम चरण र जूनियर एनटीआरले तेलुगु स्वतन्त्रता सेनानी, अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिका निभाएका छन् । जसमा आलिया भट्ट, अजय देवगन, श्रिया सरन, रे स्टिभेन्सन, एलिसन डुडी र ओलिभिया मोरिस महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मले विश्वव्यापी रूपमा बक्स अफिसमा असाधारण राम्रो प्रदर्शन गरेको थियो ।

Back to top