×

रौतहट, ९ अषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजीलाइ कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि पिडितहरु सार्वजनिक हुन थालेका छन् । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन विज्ञप्तीमार्फत अनुरोध गरेको थियो । 

प्रधानमन्त्रीले नै निर्देशन दिएपछि रौतहटमा एक जना मिटर ब्याजीलाई कारवाहीका लागि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट गौरमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौंमा मिटर ब्याजीलाई कारवाही गर्न माग गर्दै निवेदन पठाइएको छ । 

जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ निवासी हरेन्द्र झाले प्रमुख जिल्ला अधिकारीको कार्यालय मार्फत मिटर ब्याजीलाइ कार्यवाही गर्न प्रधानमन्त्री समक्ष निवेदन पेश गरेका छन् ।

‘रौतहटको गौर नगरपालिका वडा नम्बर ६ बस्ने जोखु साहको नाती रामचन्द्र साहको छोरा श्रीराम साहले मसँग २०७४ साल चैत ०९ गतेमा मेरो श्रीमती बन्दना देवी झा बाट ५ लाखको दृष्टिबन्धक गराएको र निज श्रीराम साहले आफ्नो नाममा ६ लाखको कपाली र निजको भाइ राधेश्याम साहको नाममा १५ लाखको कपाली गराएको र आफ्नै काकाको छोरा अबधविहारी साहको नाममा ११ लाखको कपाली गराएको र निजको आफ्नो ससुरा रामचन्द्र साहको नाममा १० लाखको कपाली फेरी आफ्नो सालो रामगोविन्द प्रसाद साहको नाममा ८ लाखको कपाली गराएको र आफ्नै सालो हरेराम साहको नाममा ६ लाखको कपाली श्रीराम साहले आफूबाट गराएको,’ झाले लेखेको निवेदनमा उल्लेख छ ।

सबै कपालीको लेखनदास रौतहटको खेसरहिया वडा नम्बर ४ हाल माधवनारायण वडा नम्बर २ बस्ने भागीरथ प्रसाद साहले गराईदिएको र  लेखनदास भागीरथ साहले आफ्नो श्रीमतीको नाममा पनि ५ लाखको कपाली गराएको झाको निवेदनमा उल्लेख छ । 

धनिहरुलाइ आफूले लिएको ऋण दिन जाँदा लिन नमानेको र कपाली माग्दा समेत फिर्ता नदिएको झाले बताए । आफु अन्यायमा परेको भन्दै झाले प्रचलित कानुन बमोजिम कारवाही गरी मिटर ब्याजीसँग मुक्ती दिलाउन आग्रह गरेका छन् ।
 

Back to top