×

वीरगञ्ज, ९ अषाढ । अघोषित लोडसेडिङ्ग र विद्युत ट्रिपिङ्गका सम्बन्धमा वीरगञ्ज उद्योग वाणिज्य संघले उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको ध्यानाकर्षण गराएको छ । 

संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता नेतृत्वकको टोलीले बिहिवार मन्त्री भुषालकै कार्यकक्षमा भेटेर विद्युत उत्पादन, प्रभावकारी वितरण र नियमित आपुर्ति नहुँदा त्यसको प्रत्यक्ष मार उद्योग व्यवसायमा परेको भन्दै ध्यानाकर्षण गराएको हो । 

विद्युत मागमा बृद्धि, ठूला उद्योगको स्थापना, ग्राहस्थ विद्युत खपत दरमा बृद्धि, विद्युतीय सामाग्री (इन्डक्शन चुल्हो) को बढ्दो प्रयोग, विद्युतीय सवारी साधनको बृद्धि लगायतका कारण करिब साढे २ दशकभन्दा पुरानै विद्युत वितरण प्रणालीमा परिस्कृत र बिस्तार गर्नुपर्ने आवश्यक्ता अध्यक्ष डा. गुप्ताले औँल्याएका छन् । विद्युत खपत बढेपनि पुरानै संरचना र पुरानै प्रणालीमा विद्युत् सुचारु हुँदा समस्या हुन सक्ने भन्दै समयमै खपतअनुसारकै संरचना र प्रणालीको बिकास गर्नुपर्ने डा. गुप्ताको भनाई छ । आपुर्तीअनुसर वितरण लाईनको क्षमता कम, ट्रान्सफर्मरको कमी, दक्ष जनशक्तिको अभाव, कमजोर व्यवस्थापन लगायतका कारण उद्योगी व्यवसायीहरुले गुणस्तरीय विद्युत आपुर्ती हुन नसक्दा मुलुकलाई अर्बाैको क्षति भईरहेको डा. गुप्ताले मन्त्री भुषाललाई जानकारी गराए । तराईमा विद्युतीय पोल जमिनमा गाड्दा जरामा ढलान नगर्दा पोल ढल्किने, तारहरु लतरिने जस्ता समस्याले पनि दुर्घटनाको जोखिम बढेको हुँदा व्यवस्थापन गर्नुपर्ने डा. गुप्ताले सुझाव दिएका छन् । 

संघमार्फत अध्यक्ष डा. गुप्ताले राखेका प्रश्न र जिज्ञासा जायज भएको बताउँदै ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले विद्युत आपूर्तिमा देखिएको समस्याप्रति गम्भिर भएको बताइन् । औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ्ग समस्या समाधान गरेर नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेकोसमेत मन्त्री भूषालले जानकारी दिइन् । मन्त्री भूषालका अनुसार पुराना ट्रान्सफर्मरहरुलाई मर्मत सम्भार गर्नुपर्ने, नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने लगायतका काम अघि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले पर्याप्त बजेटको अभावमा प्राधिकरणका परियोजनाहरुले तीव्रता लिन नसकेको बताए । आन्तरिक स्रोत साधनकै भरमा काम हुँदै आएपनि नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा कामले गति लिन नसकेको घिसिङ्गको भनाई छ । 

बारा–पर्सा क्षेत्रमै प्राधिकरणबाट ५० अर्बको लागतमा विद्युत सम्बन्धी परियोजनाको काम शुरु हुने पनि उनले जानकारी गराए । प्रसौनीमा ठूलो सब–स्टेशन स्थापनाका लागि प्राधिकरणले ३ बिघा जग्गासमेत लिईसकेको बताउँदै घिसिङ्गले सब–स्टेशन निर्माणको काम चाँडै शुरु गर्ने बताए । उक्त सब–स्टेशन निर्माण भएपछि त्याहाँबाट वीरगञ्ज र पोखरिया वितरण केन्द्रसम्म विद्युत प्रसारण गर्न सहज हुने उनको विश्वास छ । पिलुवामा रहेको सब–स्टेशनलाई १३३ के.भी.मा स्तरोन्नती गर्ने योजना पनि उनले सुनाए । बन र प्रशासन लगायतका निकायहरुबाट हस्तक्षेप हुँदा प्राधिकरणले स्वतन्त्र रुपमा काम गर्न नसकेको उनको भनाई छ । 

मन्त्री भूषाल र कार्यकारी निर्देशक घिसिङ्गलाई ध्यानाकर्षण गराउन वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top