×

बारा, ९ अषाढ । साँघुरो भवन, साना–साना ३ वटा कोठाहरु, सबैतिर अस्तव्यस्त, फोहरमैला र दुर्गन्ध ।  सेवाग्राहीहरुका लागि न बस्ने ठाँउ न प्रतिक्षालय नै  । बाराको जीतपुरस्थित स्वास्थ्य चौकीमा सञ्चालित प्रसुती गृह (वर्थिङ्ग सेन्टर) को अवस्था हो यो । बिगत ४ वर्षदेखि  सञ्चालनमा रहेको प्रसुती गृहमा गर्भवतीहरुका लागि सामान्य सुविधाहरु समेत ब्यवस्था नहुदाँ विपन्न महिलाहरु चर्को शुल्क तिरेर निजी क्लिनिक पुग्न बाध्य छन् । 

सो प्रसुती गृहमा गर्भवती, सुत्केरी सेवा लिन आएका महिलाहरुको लागि शैयया, भिडियो एक्सरे, रगत, दिशा, पिसाव परिक्षणको लागि ल्याबको समेत व्यवस्था छैन् भने गर्भवती महिलाहरुका लागि प्रतिक्षालयको समेत अभाव छ । जीतपुरकी फद्मा खातुन गर्भवती महिलाहरु सामान्य भिडियो एक्सरेको  सुविधा नहुदाँ वीरगञ्ज पुग्नुपर्ने बाध्यता रहेको  बताउछिन् । ‘दवाई गर्न वीरगञ्ज पुग्नुपर्छ पैसा नभएको बेला हामीलाई धेरै समस्या हुन्छ’ स्थानिय महिला खातुनले भनिन् ‘यहाँ खाली चेकअप मात्रै हुन्छ, अरु कुनै सुविधा छैन् ।’ 

सो प्रसुती गृहमा बुधवार (असार ८ गते)  मात्रै एकैदिन ४७ जना गर्भवती महिला स्वास्थ्य परिक्षण गराएको  स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् । घना वस्ती र पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको मध्य भागमा रहेका कारण जीतपुर सिमरा उपमहानगर, पर्सागढी र वीरगञ्ज महानगरका केही  वडाका गर्भवती महिलाहरु प्रसुती सेवा लिन आउने गर्दछन् ।

‘यहाँ आउने मध्ये १५ देखि २० प्रतिशत केसहरु शल्यक्रिया गनुपर्ने अथवा भ्याकुम डेलिभरी गराउनुपर्ने अवस्थाका हुन्छन् त्यस्तो केसलाई हामी यहाँ राख्दैनौ वीरगञ्ज पठाउछौ’ जीतपुर स्वास्थ्य चौकीका ईन्चार्ज प्रविणकुमार झाले भने ‘नर्मल डेलिभरी मात्रै हामी राख्छौ ।’ 

नजन्मिदै बच्चा गुमाएकी खातुन
बारा हर्रपुरकी सल्या खातुन गर्भवती सेवा लिन फागुन ५ गते जीतपुर प्रसुती गृह पुग्दा उनको पेटको वच्चाको निधन भईसकेको थियो । समयमै स्वास्थ्य चौकी पुग्न नसक्दा खातुनले नौ महिना पेटमा हुर्काएको बच्चालाई गुमाउनु पर्यो । त्यतिमात्रै होईन प्रसुती गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधा समेत नहुदाँ खातुनको ज्यान समेत जोखिममा पुगेको थियो । वर्थिङ्ग सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरी प्रसुती गृहमा सामान्य सुविधाहरु नहुदाँ खातुनकै जस्तो समस्या धेरै महिलाले भोग्नुपरेको बताउछिन् ।

साँघुरो ठाउँ, ३ बेडले धानेको बर्थिङ्ग सेन्टर
‘गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा सुत्केरी गराउन ठाँउ अत्यन्तै साँघुरो छ, एकैपटक २÷३ वटा केस आयो भने हामीलाई धेरै गाह्रो हुन्छ डेलिभरी गराएपछि राख्ने ठाँउ छैन्, बेड पनि ३ वटा मात्रै छ’ स्वास्थ्यकर्मी चौधरीले भनिन् ‘हामीले उपमहानगरसँग भनेका छौ अर्को भवन बनाउन, खै कहिलेसम्म बन्छ’ विपन्न परिवारका महिलाहरु जीतपुर स्वास्थ्य चौकीबाट सुविधा नपाएपछि बाध्य भएर वीरगञ्ज जाने गरेको चौधरी बताउछिन् । 

उपमहानगर भित्र एउटै सुविधासम्पन्न अस्पताल छैन् । उमहानगर अन्र्तगत रहेका करिव डेढ दर्जन स्वास्थ्य संस्था मध्ये सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र जीतपुर स्थित स्वास्थ्य चौकीले मात्रै सामान्य गर्भवती परीक्षण तथा प्रसुती सेवा दिदै आएका छन् । शल्यक्रिया गर्नुपर्यो वा अन्य जटिल अवस्था आयो भने तत्कालै वीरगञ्ज पुग्नुपर्ने भएकोले बाटोमै ज्यान जान सक्ने जोखिम पनि उक्तिकै हुने गर्दछ । 

१ करोड लगानीमा प्रसुतीगृह  शिलन्याश
सुर्य नेपाल प्रा.ली.ले १ करोड लगानीमा बाराको जीतपुरमा सुविधा सम्पन्न प्रसुती गृह निमार्ण गर्ने भएको छ । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको पहलमा सुर्य नेपालको लगानीमा निमार्ण हुनेगरी बुधवार सो प्रसुती गृहको शिलन्याश भएको हो । ‘५र६ महिनाभित्र हस्तान्तरण गर्ने गरी स्वास्थ्य मन्त्रालयको डिजाईनअनुसार काम शुरु गर्नेगरी वर्थिङ्ग सेन्टरको शिलन्यास भएको छ’ जीतपुर सिमरा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेलले भने ‘जग्गा, प्राविधिक र नक्सा उपमहानगरको हो, लगानी सुर्य नेपालका होे’  । 

Back to top