×

वीरगञ्ज, ९ अषाढ । नेपालबाट गएराती भारतका लागि निस्केको एउटा ट्यांकरबाट भारतीय प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्जको अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) बाट पास भएर भारतको बरौनी तर्फ जाँदा गरेको ट्यांकरबाट भारतीय प्रहरीले लगभग ५ सय २६ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीले ना ७ ख ३७०५ नम्बरको ट्यांकरमा फल्स कम्पार्टमेन्ट बनाएर ३७ वटा बन्डलमा बेरिएको ५ सय २६ किलोग्राम गाँजासहित भारतीय प्रहरीले दुई जना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुको पहिचान प्रहरीले खोलेको छैन ।

बरामद गरिएको गाँजाको बजार मूल्य करोडौँमा रहेको भारतीय प्रहरीको दावी छ ।

नेपालबाट ठूलो मात्रमा गाँजा एउटा ट्यांकरमा लुकाएर भारतको दक्षिण पूर्व क्षेत्र तर्फ लग्न लागिएको विशेष सूचनाको आधारमा भारतीय प्रहरी र कस्टमले संयूक्त अप्रेसन चलाएर ट्यांकरलाई गएराती लगभग ११ बजे रक्सौलको आइसिपी अन्तर्गत पर्ने पर्ने बाइपास सडकखण्डमा रोकेर चेकजांच गर्दा गाँजा बरामद भएको थियो ।

नेपालको आइसिपीमा कडा जाँच हुँदाहुँदै यत्रो ठूलो मात्रमा गाँजा सहजै भारत पुग्नु अहिले चर्चाको विषय बनेको छ । भारतीय प्रहरीले पनि यस विषयमा अनुसन्धान अगाडि बढाएको बताईएको छ ।

Back to top