×

फाइल तस्बिर

वीरगञ्ज, ८ अषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विद्येयक अघि बढाउने प्रस्तावमा सत्तारुढ गठबन्धनले समर्थन जनाएको छ । बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको जानकारी दिए । बैठकमा सहभागी एक नेताका अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावबारे भने कुनै निर्णय भएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको कार्कीले जानकारी दिए ।

‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भने ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो । 

त्यसबेला नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले हालकै व्यवस्था जस्तो तत्काल नागरिकता दिनुपर्ने मत राखेका थिए । तर बहुमतका आधारमा त्यतिबेला ७ वर्षे प्रावधान राखेर नगरिकता विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिले टुंग्याएर प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

Back to top