×

वीरगञ्ज, ८ अषाढ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो । 

सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ । 

उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । 

नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, भियतनाम, इण्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी १२ देशबाट कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरेको छ । 

नेपालमा सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिना, ब्राजिल र पराग्वेबाट आउने गरेको छ । यी सबै दक्षिण अमेरिकी राष्ट्र हुन् । 

नेपालमा सबैभन्दा बढी कच्चा पाम तेल इण्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै, नेपालमा सबैभन्दा बढी कच्चा सनफ्लावर तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आउने गरेको छ । 

Back to top