×

दुर्घट्नामा घाइते भएर निधन भएका वडा सदस्य कृष्ण कुमार (सन्त) यादव । तस्विर : सामाजिक सञ्जाल ।

वीरगञ्ज, ८ अषाढ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ । 

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्ण कुमार (सन्त) यादवको गएराति निधन भएको हो । 

चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मंगलबार राति बाटोमै निधन भएको हो ।

दुर्घटना कसरी भयो ?

स्थानीय निर्वाचन पश्चात हुने कार्यपालिकाको चुनाव पूर्व निर्वाचित जनप्रतिनिधिलाई लुकाउने परिपाटी वीरगञ्जका लागि नौलो हैन । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात पनि कार्यपालिका सदस्यको चुनावमा निर्वाचित भएका जनप्रतिनिधिलाई कसैले आर्थिक प्रलोभन दिएर दबाब र प्रभावमा नपारोस् भन्ने उद्देश्यले जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अधिक्तम जनप्रतिनिधिहरुलाई मकवानपुरस्थित एक होटलमा लगेर राखिएको थियो । कसैले उनीहरुलाई फोन मार्फत प्रलोभनमा नपारोस भनेर उनीहरुको मोबाइल फोनसमेत अफ गरिएको थियो ।

जसपाबाट वडा सदस्यमा निर्वाचित भएका यादव पनि सोही समूहमा थिए । 

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका दिन मतदान गर्न मकवानपुरबाट वीरगञ्ज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधिहरु सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । चालकले अत्यधिक मात्रामा मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको कुरा पनि बाहिरिएको थियो । यद्दपी यसको पुष्टि हुनसकेको थिएन । 

उक्त दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३० का वडाअध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का धर्मेन्द्रप्रसाद महतो थारू घाइते भएका थिए ।

Back to top