×

बारा, ८ अषाढ ।  डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फछ्यौट गरेको छ । करिव एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फछ्यौट गरेको हो । १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समयमै लिलाम  नहुदाँ लगतमा रकम चढाईएको तर, बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै रहेको थियो भने अन्य वन कर्मचारी र विभिन्न संघसंस्था तथा व्यक्तिको नामको पेश्कि बेरुजु रहेको वन कार्यालयले जनाएको छ । 

वन कार्यालयले सोमवार आयोजना गरेको ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रममा बाराका डिभिजन वन अधिकृत मञ्जुर अहमदले ३ वर्षअघि बाराको वन कार्यालय देशभरकै ७७ जिल्ला मध्येकै  सबैभन्दा धेरै बेरुजु हुने कार्यालय मध्येको पहिलो स्थानमा रहेको बताए । ‘म जुन दिन हाजिर भए त्यो दिन डिभिजन वन कार्यालय बारामा १६ करोड बेरुजु थियो, बेरुजु पनि कार्यालयले काम गर्दा जिम्मा नलिएको, अवस्थामा थियो, बिगतमा कसैले हातै नहालेको ठाँउमा हामीले ३ वर्षभित्र १० करोड बेरुजु समपरिक्षण गरार्यौै’ बिदाई कार्यक्रममा बोल्दै वन अधिकृत अहमदले भने ‘बिगतमा कर्मचारीहरुले कुनमा उजुरी छ कुनमा उजुरी छैन भनेर डराएर समपरिक्षण गर्दा दायित्व मेरो टाउकोमा आउछ भनेर पन्छाएर राखेको अवस्था थियो, त्यसलाई हामीले चिरेर पार लगायौ’ । 

२०७५ सालमा बारामा तत्कालिन डिभिजन वन प्रमुख सहित दुई दर्जन कर्मचारीहरु विरुद्ध एकैपटक अख्तियारमा उजुरी परेको थियो । जसमध्ये केही कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भईसकेको छ भने केही कर्मचारी माथि अख्तियारले अनुसन्धान जारी राखेकोे छ । ‘कुनै बेला हामी दैनिक २÷३ वटासम्म पत्रको अख्तियारलाई जवाफै मात्र पठाउथ्यौ, तर अहिले धेरै समाधान भईसकेको छ’ अहमदले भने । 

क्षेत्रफलको हिसाबले मधेश प्रदेशका ८ जिल्ला मध्ये बाराको वन क्षेत्र सबैभन्दा ठुलो छ । ४१ वटा सामुदायिक, ४ वटा साझेदारी, २१६ वटा निजी वन, सरकारद्धारा व्यवस्थित राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको भुभाग गरी बारामा ४७ हजार १८१ हेक्टर वन क्षेत्र रहेको छ । तर, पछिल्लो समय मानविय अतिक्रमणका कारण दोस्रो अन्तराष्ट्रिय विमानस्थल भित्र रहेको टाँगियावस्ती, कोहल्वी  नगरपालिकाको ठुलो वन क्षेत्र, निजगढ नगरपालिकाको रतनपुर, डम्मरपुर, जीतपुर सिमराको चकरीमा वनको जग्गा अतिक्रमणमा परेको छ । 

सुकुम्बासी बाहेक पनि केही जग्गा माफियाहरुले बाराको वन क्षेत्रलाई नियोजित ढंगले अतिक्रमण गरेर भौतिक पुर्वाधारहरु निमार्ण गरिरहेका छन् । गत वर्ष वन कार्यालयले मानविय अतिक्रमणमा परेको कोहल्वी र जीतपुर सिमराको चकरी क्षेत्रको करिव २ सय हेक्टर वनको जग्गा फिर्ता ल्याएर सो क्षेत्रमा तारबार सहित वृक्षारोपण गरेको छ ।

वन कर्मचारीको महत्वपुर्ण काम वन संरक्षण भएपनि कर्मचारीहरुको लापरवाहीकै कारण वन वर्षेनी वन क्षेत्र मासिदै गएको वन अधिकृत अहमद बताउछन् । ‘हाम्रो ९० प्रतिशत समय, साधन र श्रोत वन संरक्षणमा जान्छ तैपनि हामीले चोरी तस्करी वन क्षेत्र अतिक्रमणलाई  जिरो बनाउन सकेका छैनौ, त्यस्मा कतै न कतै हामी भित्रै कमजोरी छ, हामी नै राम्रो सँग उभिन सकेका छैनौ’ उनले भने । 

‘हामीले वन जंगल संरक्षणमा मात्रै काम गर्यौ भने बाराको वनमा अन्य कुनै समस्या छैन्’ पछिल्लो समय वन जंगलमा हुने काठको चोरी तस्करी केही नियन्त्रण भएपनि स्थानिय तहले सामुदायिक भवन, मठ मन्दिर, गुम्बा, चर्च, खानेपानी ट्याकी, पर्यटन पुर्वाधारका नाममा वनजंगल र वनको खाली भुभाग वर्षेनी अतिक्रमण गर्दै आएको छ । ‘हामीले गाडी प्रयोग गरेर हुने चोरी, तस्करीलाई जिरो नै पार्न खोजेका छौ तर २÷३ महिनामा फाटफुट त भएकै छ’ अहमदले भने ‘एक हिसाबले संगठित काठ तस्करलाई हामीले धक्का दिएका छौ, तर चोरी त अझै नियन्त्रण भएको  छैन्’ । 

३ वर्ष बाराको डिभिजन वन प्रमुख भएर सोमवार मात्रै बिदाई भएका अहमद बिगतका वन कर्मचारीहरुले नै व्यक्तिगत लाभमा परेर संस्थाको हित विपरित काम गर्ने गरेको टिप्पणी गरेका छन् । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै महोत्तरीवाट सरुवा भएर बारा आएका डिभिजन वन अधिकृत बिनोद सिंहले वन जंगल खुल्ला प्राकृतिक सम्पति भएकोले यस्को संरक्षणमा सबै तहका नागरिकको सहयोग आवश्यक  पर्ने बताएका छन् । उनले वन जंगल संरक्षणमा आफु कहिल्यै नचुक्ने प्रतिवद्धता समेत जनाएका छन् । 
 

Back to top